काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल अर्थहिन रहेको टिप्पणी गरे ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले वर्तमान सरकारले यो मुल्यवान समय खेर फालेको आरोप लगाएका हुन् । उनले भने,‘यो सय दिन खेर गएको छ, निर्वाचन अनिश्चिततातिर धकेलिरहेको छ, निर्वाचनको लागि यो सरकारले कुनै उल्लेखनीय काम गर्न सकेको छैन् ।’
उनले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको संविधान कार्यान्वयनको योजना समेत यो सरकारले बेवास्ता गरेको आरोप लगाए । ज्ञवालीले भने,‘अहिलेसम्म निर्वाचनको मिति तोकिएको छैन, निर्वाचनको क्यालेण्डर अहिले सम्म यो सरकारले दिन सकेको छैन, चैत्रसम्म स्थानीय निकायको निर्वाचन नभए, अरु निर्वाचन कहिले हुन्छ ? यो गम्भिर प्रश्न हो ।’उनले छिमेकीसँगको सम्बन्धमा यो सरकारले असन्तुलन कायम गरेको आरोप लगाउँदै भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बिथोलियो, चीनसँगको पारवहन सम्बन्धी बैठक अनिश्चित भयो ।’ उनले अहिले उत्तरी छिमेकी चीनसँगको सम्बन्ध हिउँजस्तै चिसिएको अवस्थामा पुगेको समेत गुनासो पोखे ।
सरकारले यो तीन महिने कार्यकालमा कुनै उल्लेखनीय काम नगरेपनि आफुहरु यो सरकारको विकल्प खोज्ने पक्षमा अहिले नै नरहेको समेत जिकिर गरे । ज्ञवालीले भने,‘सरकार परिवर्तन मुलुकको आवश्यकत्ता होईन, सत्ता परिवर्तनको खेलमा एमाले अहिले लाग्दैन् ।’प्रधानमन्त्री प्रचण्डले दलीय सहमतिको लागि बाक्लो भेटघाट गरेपनि अहिलेसम्म परिणाम आउन नसकेको टिप्पणी गर्दै उनले थपे,‘भेटघाटमा समसामयिक विषयमा कुराकानी भएपनि, आजको मितिसम्म एमालेसँग संविधान संशोधनको एजेण्डामा छलफल भएको छैन ।’
उनले सिमांकनको विवाद मिलाउने नाममा समस्या नै नरहेको ५ नम्बर प्रदेशलाई टुक्र्याउने माँग कसको भन्दै प्रश्न समेत गरे । उनले थपे,‘मधेशवादी दलहरुलाई खुशी बनाउने नाममा विवाद नै नभएको ठाउँमा विवाद उत्पन्न गराउने काम भएको छ, यो हामीलाई मान्य छैन्, सरकारले अहिले एमाले आए आउँछ नआए देखाईदिन्छौं भन्ने प्रवृत्ति देखाएको छ ।’
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गरे । नेता सापकोटाले राजनीतिक पहलकदमी लिने कुरामा सरकार सफल रहेको उल्लेख गर्दै सहमतिमै संविधान संशोधन गरेर तीन वटै निकायको निर्वाचन गर्नको लागि सरकारले गम्भिर पहल गरिरहेको बताए । सापकोटाल सिमांकन, भाषा, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संविधान संशोधन गर्ने तयारी भैसकेको समेत जिकिर गरे ।
उनले भने,‘भाषाको विवाद अब भाषा आयोगले समाधान गर्छ, त्यस्तै प्रतिनिधि सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुने कुरामा छलफल भएको छ, त्यस्तै अहिले नागरिकताको बारेमा अनावश्यक अतिरञ्जनापूर्ण प्रचार भैरहेपनि अन्तरिम संविधानको प्रावधान अनुसार अगाडि बढ्नेगरि कुरा भैरहेको छ ।’ प्रदेशको सिमांकनको विवाद समाधानको लागि शक्तिशाली आयोग गठन गर्ने र त्यही अनुसार अघि बढ्ने समेत उनले खुलासा गरे ।
उनले प्रचण्ड नेतृत्वको सरकारले उच्च अदालतको स्थापना गरेको, संविधान कार्यान्वयन र निर्वाचनको लागि आवश्यक कानूनहरु निर्माणमा तिव्रता दिएको, भुकम्पपीडितलाई राहत र पूर्ननिर्माणको कामलाई तिव्रता दिएको, विकास निर्माणका कामलाई प्राथमिकता दिएको, राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नको लागि निर्देशन दिएकोजस्ता उल्लेखनीय काम गरेको भन्दै जनताको मन जित्न सफल भएको विश्वास व्यक्त गरे ।
उनले प्रतिकुल परिस्थितिमा पनि सरकारले सहमतिको लागि पहलकदमी लिन खोज्नु र मुलुकलाई गति दिन खोज्नु सकारात्मक कदम भएको भन्दै सरकारको कामलाई प्रशंसा गर्नुपर्ने बताए । यद्धपी उनले मन्त्रिपरिषद एवम् सचिवालयलाई चुस्तदुरुस्त बनाएर अघि बढे अझै गतिशीलका साथ यो सरकारले काम गर्न सक्ने विश्वास व्यक्त गरे । सापकोटाले भने,‘अहिले जस्तोसुकै सरकार भएपनि यो भन्दा बढि काम हुन सक्दैनथ्यो, अब हामी आरोप र प्रत्यारोपमा उत्रिनुहुँदैन् ।’ उनले आधारभूत रुपमा सरकार सफल भएको समेत दाबी गरे ।