arrow

प्याङ्खोलामा अस्ताइन् सञ्जिता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
jeep-accident-baglung-rss.jpg

बलेवा । सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा रहेकी थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकै थिइनन् ।

बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् । दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन । तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् ।

शनिबार बागलुङको ढोरपाटन नगरपालिका-५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन् ।

दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् । ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका-५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागेका थिए ।

दीपक पहिलेदेखि नै बेलायत बस्थे। बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लागे ।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो ।

लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे ।

“घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन् ।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउँछिन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए ।

पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे ।

सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१  १९ नम्बरको जीप ढोरपाटन नगरपालिका-५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो ।

जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन-४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो ।

सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए ।

घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए । रासस



नयाँ