arrow

स्थलगत रिपोर्ट

साँघुरिदै सुस्ताः लालपूर्जा छ, जग्गा छैन

logo
नारायण वली,
प्रकाशित २०८० माघ २ मंगलबार
susta-follo-3.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशको एउटा ऐतिहासिक एवं देशकै संवेदनशील भू-भाग सुस्ताको क्षेत्राधिकार साँघुरिदै गएको छ । नारायणी नदी पारी पर्ने नेपाली भूमि जंगल र नदी किनारको तटकीयमा अवस्थित छ । हेर्दा अचम्मित त्यो ठाउँको छुट्टै एउटा महत्व रहेको छ ।

साविक नवलपरासी जिल्ला हाल नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पर्ने सुस्ता भारतीय पक्षको दबदबाको चरम संघर्षमा पिल्सिदै आएको छ ।१४ हजार हेक्टर नेपाली भूमि भारतीय सुरक्षा बल एसएसबीले अतिक्रमण गरी कब्जा जमाउँदै आएको छ ।

यसरी कब्जा गरेको चार दशक बितेको छ । जसका कारण कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफल भएको सुस्ता सानो आकारको ७ हजार हेक्टरमा खुम्चिन पुगेको छ ।

भारतीय पक्षले हडप्न खोजेको १९ हजार हेक्टर नेपाली भूमिको लालपूर्जा स्थानीयको हातमा छ भने जग्गा भारतमा छ । स्थानीय आफ्नो जग्गाको पूर्जा हातमा भए पनि उपभोग गर्नबाट बञ्चित छन् । उक्त जग्गाको लालपूर्जा बासकमा थन्किन पुगेको छ ।

विवादित बनेको नेपाली भूमि अहिले जंगलमा परिणत भएको छ। रामचन्द्र साह उमेरले ७५ वर्ष पार गरे । उनको पनि जग्गा भारतको अतिक्रमणमा छ । करिब १६ वर्ष अगाडिसम्म सो जग्गाबाट खेती गरेका साहले आफ्नै खेतीयोग्य जमीन जोतभोग गर्न पाएका छैनन् । 

अर्की स्थानीय लैला बेगमले पनि आफ्नो ५ बिगाह जग्गा भारतले कब्जा गरेको बताउँछिन् । उनी भन्छिन्, २०६१ सालसम्म भारतीय पक्षसँग भिडेरै संरक्षण गरेकी थिएँ । पछि थप एसएसबीको हतियारसहित चलेको दादागिरी उत्कर्षमा पुग्यो । हामीले हाम्रो देशको भूभाग बचाउन लड्यौँ । सरकारलाई धेरै पटक जानकारी पनि गरायौँ । सुनुवाइ भएन । अतिक्रमण जग्गाको लालपूर्जा घरमा सुरक्षित राखेकी छु । कागज राख्ने मात्रै भएको जग्गा फिर्ताका लागि पहल कतैबाट हुँदैन । न्यायका लागि आवाज उठाउँदै गर्दा बूढेसकाल लाग्न थालिसक्यो । न्याय पाउने आशा देखिँदैन ।' 

स्थानीय ओमप्रकाश चौधरीले पनि आफ्नो अढाई बिगाह जमीन जोतभोग गर्न नपाएको दुःखेसो सुनाउँछन् ।

२०६२ सालदेखि एसएसबीले विवादित जमीनमा नेपाली जग्गाधनीलाई निषेध गर्दै आएको बताइएको छ । २०२९ सालमा गरिएको सर्भे नापीका क्रममा अधिकांश सुस्ताबासीले लालपूर्जा पाएका थिए ।

बेगम, अन्सारी र चौधरीजस्ता धेरै सुस्तावासीको लालपूर्जा सहितको जग्गा भारतीय पक्षले अतिक्रमण गर्दा जग्गाविहीन हुन पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ