arrow

सङ्घीयतापछि विकासले गति लियो : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
surendra-panday-cm-gandaki-rss.jpg
तस्बिर-फाइल

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् । 

पर्वतको फलेबास नगरपालिका-३ शङ्कपोखरीमा आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको सरकार बनेपछि विकासमा पहुँच पुगेको बताए । 

ठूला योजना सङ्घले, मध्यमखालका प्रदेशले र साना योजनाको जिम्मा स्थानीय तहले लिँदा विकास निर्माणमा एकरुपता आएको उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले दुई सय ४० वर्ष लामो राजतन्त्रका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै बहुदलीय व्यवस्था आएपछि मुलुकमा चौतर्फी विकास भएको दाबी गरे । 

लामो समयदेखिको खानेपानी समस्या झेलेको शङ्करपोखरीवासीको समस्यालाई इङ्गीत गर्दै मुख्यमन्त्री पाण्डेले राजा महेन्द्रको पालामा राखिएको खानेपानीको योजनाको समस्या अझै पनि समाधान हुन नसकेको बताए । 

गण्डकी प्रदेश सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक गतिविधि बढाउनका लागि युवालाई गाउँमा नै बस्ने वातावरण बनाएर कृषिमा लगाउनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री पाण्डेले फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीलाई पानीका स्रोतको सुनिश्चितता गर्न अनुरोध गरे । 

स्रोतको सुनिश्चितता भएमा प्रदेश सरकारले पुराना केही योजनालाई बहुवर्षे योजनामा रूपान्तरण गर्नुका साथै नयाँ योजना पनि राखिदिने आश्वासन दिए । 

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले स्व तिवारी जनताको अधिकारका पक्षमा लड्दालड्दै सहिद बनेको बताए । 

सहिदहरू पार्टीका लागि मात्रै नभएर समग्र देशवासीका लागि भएको भन्दै उनले यही कारण नै अहिले लोकतन्त्रमा सबैले खुलारूपमा विचार राख्न पाएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ