arrow

पर्शुराम भए धनुषवाण प्रतियोगितामा प्रथम

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
District-09-Bhojpuri-hamrakura.jpg.jpeg

खोटाङ । किरात यले संवत् अर्थात् यलेदुङ ५०८४ को उपलक्ष्यमा खोटाङको दिक्तेलमा आयोजित धनुषवाण (आर्चरी) प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पर्शुराम राई प्रथम भएका छन् । 

किरात गणराज्य मोर्चा खोटाङले सोमबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको धनुषवाण प्रतियोगितामा सहभागी ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई प्रथम भएका हुन् । 

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सुमन राई दोस्रो र सोही नगरपालिकाको वडा नं १४ बुइँपाका राजकुमार राई तेस्रो भएका छन् । 

विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित प्रतियोगितामा विजयी खेलाडीलाई क्रमशः नगद रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुस्कार प्रदान गरिएको छ । 

प्रतियोगितामा विजयी खेलाडीलाई पूर्वपर्यटनमन्त्री गोपाल किरातीले पुरस्कार हस्तान्तरण गरे । धनुषवाण प्रतियोगिता समापनका अवसरमा यले संवत् ५०८४ को शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ । 

किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिले यलेदोङ (यलम्बर संवत्)लाई राष्ट्रिय संवत् घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । 

कलाकार सङ्घले राजा यलम्बरको स्मृतिमा चलेको सम्वत यलदोङ (यलम्बर संवत्)लाई राष्ट्रिय संवत् घोषणा गरी लागू गर्न विज्ञप्तिमार्फत माग गरेको हो । 

सङ्घका केन्द्रीय अध्यक्ष सालिक शातासक राईले लिच्छवीकालभन्दा अगाडि ३२ पुस्ता शासन गरेका किरातीका प्रथम राजा यलम्बरको स्मृतिमा स्थापित यलदोङ–यले तङ्बे–यलम्बर संवत्लाई राज्यले राष्ट्रिय संवत् घोषणा गर्नुपर्ने माग गरे । 

नयाँ यलेदोङ (यलम्बर संवत्)का अवसरमा ललितपुरको नखिपोट खेल मैदानमा उपत्यका केन्द्रित किराती नयाँ वर्ष यलेदुङको कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव पद्म थुलुङले जानकारी दिए । 

उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि किरात राई सांस्कृतिक कलाकार सङ्घका जिल्ला शाखाले विभिन्न कार्यक्रम गरी यलम्बर जयन्ती मनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ