काठमाडौँ। खोटाङ जिल्लाको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई निर्वाचित भए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार स्थापित ठूला दलहरूलाई आश्चर्यजनक रूपमा पछाडि पार्दै राईले संसद्को यात्रा तय गरे।
केपिलासगढी गाउँपालिका–१ फेदी सुङ्दे निवासी नवनिर्वाचित सांसद आरेन राईले कुल १६ हजार ६१२ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ को मतान्तरले पराजित गरे। पराजित एमाले उम्मेदवार देवविक्रमले १२ हजार ७१४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दियो।
यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राई ११ हजार ९५७ मतसहित तेस्रो स्थानमा खुम्चिए। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डा. हरि रोकाले ९ हजार ४४३ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो।
पुराना राजनीतिक शक्तिहरूको पकड क्षेत्र मानिने खोटाङमा श्रम संस्कृति पार्टीले हासिल गरेको यो जितलाई कोशी प्रदेशकै निकै अर्थपूर्ण र ऐतिहासिक राजनीतिक फेरबदलका रूपमा हेरिएको विश्लेषकहरूले बताए।