वर्षा शुरू हुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
458
Shares
काठमाडौँ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी नदी किनारको प्रमुख व्यापारिक केन्द्र धाप्लाङघाट बस्ती बाढी र पहिरोको उच्च जोखिममा परेको छ। विसं २०८१ असोज १२ गते आएको भीषण बाढीले नदी किनारको जमिन तीव्र रूपमा कटान गरेपछि बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने यो ऐतिहासिक बस्ती संकटमा परेको हो।
बलौटे माटो रहेको धाप्लाङघाटमा निरन्तरको कटानका कारण अहिले करिब २५ मिटर अग्लो भीर बनेको छ, जसले गर्दा हिउँद होस् या बर्खा, जुनसुकै बेला सानोतिनो पहिरो झरिरहने स्थानीय गणेशबहादुर मगरले बताउनुभयो। बाढीले नदी किनारको करिब ३० मिटर जमिन कटान गरिसकेकाले ठूलो वर्षा हुनासाथ यहाँका १८ घरपरिवार त्रसित भई एकै ठाउँमा भेला भएर बस्न बाध्य छन्। मगर, दाहाल खत्री, श्रेष्ठ, माझी, परियार र तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रका हरेक घरमा होटल तथा पसल सञ्चालनमा छन्।
जोखिममा परेको धाप्लाङघाट बस्तीलाई जोगाउन यस वर्ष सङ्घीय सरकारबाट १ करोड ७६ लाख रुपैयाँ बजेट प्राप्त भएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिनुभयो। यो योजना बहुवर्षीय योजनामा समावेश भएकाले चालु आर्थिक वर्षकै बजेटबाट चाँडै ठेक्का आह्वान गरी मेसिनरी पर्खाल (तटबन्ध) निर्माणको काम शुरू गरिने तयारी छ। सङ्घीय सरकारले बजेट उपलब्ध गराएपछि स्थानीयवासी पनि आफ्नो थातथलो जोगिनेमा आशावादी बनेका छन्।
धाप्लाङघाटमा खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने मोटरेबल पक्की पुल समेत निर्माणाधीन छ। निर्माण कम्पनी स्वच्छन्द–रसुवा–पप्पु जेभीको लापरवाहीका कारण विसं २०७३ देखि अलपत्र परेको २१ करोड ६५ लाख रुपैयाँ लागतको यो पुलले पछिल्लो समय गति लिएको छ। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७४ मा शिलान्यास गर्नुभएको यस पुलको ६ वटा पिलरमध्ये ४ वटा निर्माण सम्पन्न भई यसै वर्षदेखि स्ल्याब ढलानको काम शुरू भएको छ।
पुलको पछिल्लो म्याद विसं २०८४ जेठ १९ गतेसम्म थपिएको छ। हाल दुवैतर्फ कच्ची सडक जोडिए पनि पुल नहुँदा ठूला सवारी साधन वारपार गर्न सकेका छैनन् भने मोटरसाइकल मात्र झोलुङ्गे पुलबाट तारिन्छ। पुल निर्माणमा ढिलाइ हुँदा महँगो ढुवानी भाडा तिर्नुपरेको र स्थानीय उत्पादन निर्यात गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष भूबलराज राईले बताउनुभयो। यो पुल निर्माण सम्पन्न भएमा खोटाङका बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही क्षेत्रका नागरिकको जीवनशैली सहज बन्ने विश्वास गरिएको छ।