arrow

ज्येष्ठ नागरिकको रमाउने थलो पाँचकुने चौतारो

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ २ मंगलबार
senior-citizen-morang-2080.jpg

मोरङ । उमेरले सात दशक पार गरिसकेका पूर्व प्रधानाध्यापक हरिनारायण चौधरीलाई हिजोआज दैनिकी बिताउन सहज हुन थालेको छ । आफू दामलका साथीसङ्गीसँग  ‘पाँचकुने ज्येष्ठ नागरिक चौतारो’ मा गफिँदै आनन्द लिन थालेका छन् । 

उनी जस्तै थुप्रै ज्येष्ठ नागरिक दैनिक यस चौतारोमा रमाइलो गरेका भेटिन्छन् । सरकारी पेशाबाट सेवानिवृत्त भएका स्थानीय ज्येष्ठ नागरिकको मुख्य सकृयतामा ज्येष्ठ नागरिक समाज गठन भएको छ ।
 
मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा ३५ वर्ष प्रधानाध्यापकको रुपमा अध्यापन गराएर सेवानिवृत्त भएका हरिनारायण चौधरी र सोही विद्यालयमा सँगै ३४ वर्ष अध्यापन गराएर सेवानिवृत्त भएका धनजित पराजुलीलगायत स्थानीय जेष्ठ नागरिकहरु मिलेर लक्ष्मीमार्ग ज्येष्ठ नागरिक समाज गठन गरेका हुन् । 

उक्त समाजको अध्यक्ष चौधरी र सचिवमा पराजुली रहेका छन् । स्थानीय ज्येष्ठ नागरिकहरु विगत दुई वर्ष अघिदेखि यही चौतारोलाई व्यवस्थित बनाउन लागिपरेका छन् । 

अहिले पाँचकुने चौतारो उनीहरुलाई दिन काट्ने मेलो बनेको छ । लक्ष्मीमार्गको सिरानमा पाँचओटा बाटोको संगमस्थलमा बनाइएको दुई कोठे भवन सहितको चौतारो स्थानीय ‘बूढापाका’ को गफिने थलो बनेको हो । 

“सेवानिवृत्त जीवन निकै कष्टकर र उराठलाग्दो होला भनेर पीर लागेको थियो, स्थानीयको सकृयतामा ज्येष्ठ नागरिक समाज गठन गरियो अहिले मन बहलाउने मेलो बनेको छ”,  लक्ष्मीमार्ग ज्येष्ठ नागरिक समाजका सचिव पराजुली बताउँछन् । 

“राज्यबाट ज्येष्ठ नागरिक सबैले परिचय पत्र पाएका छैनन्, पाएकाले पनि त्यसको सुविधा उपभोग गर्न सकेका छैनन्” सचिव पराजुलीले बताए ।

बेलबारी ११ नम्बर वडामा मात्र ७ सय २३ जना ज्येष्ठ नागरिक रहेको तथ्याङ्क छ । जसमध्ये ३ सय जना ज्येष्ठ नागरिक समाजमा आवद्ध रहेका छन् । 

चौतारोमा भेला हुनेमध्ये ज्येष्ठ नागरिक स्थानीय रामप्रसाद राई ९१ वर्ष पुगे । उनी यो समाजको सबै भन्दा जेष्ठ नागरिक हुन् । राईसँगै दुप्सन तामाङ ८८ वर्षमा हिँड्दै छन् । 

त्यसैगरी गंगामाया बस्नेत ८६ वर्षकी भएकी छिन् । “बूढेसकालको सहाराको रूपमा निर्माण भएको ज्येष्ठ नागरिक समाजमा भजन किर्तन, नाचगान भइरहन्छ हामी अग्रज ज्येष्ठ नागरिकलाई सकेको सहयोग गरिरहन्छौँ”, सेवा निवृत्त शिक्षक साथै यस ज्येष्ठ नागरिक समाजका लेखा संयोजक प्रेमकुमार कार्कीले बताए । 

कार्की जस्तै गणेश पोख्रेल, भवनाथ लुइटेल, कपिल चापागाई, योगेन्द्र बास्तोला र सुरेश पौडेल पनि शिक्षक पेशा र रामकुमार कार्की निजामतीबाट सेवा निवृत्त हुन् । 

उनीहरुले सबै आ–आफ्नो जिम्मेवारीअनुसार ज्येष्ठ नागरिक समाजमा सहयोग गरिरहेका छन् । “शिक्षण सेवा अवधिभर शिक्षक विद्यार्थीहरुसँग रमाइलो हुन्थ्यो । अब सेवा निवृत्त अवधिमा नियमित यो चौतारोमा आइरहेको छु, चौतारोमा भेला भएर साथीहरूसँग गफगाफ नगरी घरमै बस्ने कुरा कल्पनै गर्न सक्दिन”, प्रेमकुमार कार्कीले बताए । 

उनले भने,“यहाँको सितलताले लोभ्याउछ, कहिलेकाहिँ साथीहरू आइनपुगेको अवस्थामा एक्लै भए पनि केही समय चौतारोमा बिताउँछु ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ