क्लिन्टनको दाबी : आफू पराजित हुनुमा एफबीआई निर्देशकको हात
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
690
Shares
अमेरिकाको नयाँ राष्ट्रपति पदमा पराजित डेमोक्रेटिक हिलारी क्लिन्टनले हालैको अप्रत्याशित पराजय पछाडि त्यहाको संघीय जाँच ब्युरो ‘एफबीआई’ का निर्देशक जेम्स कोमी प्रमुख कारण रहेको औल्याएकी छन् । राष्ट्रपति निर्वाचनको तीन दिनअघि निर्देशक कोमीले क्लिन्टनका इमेलहरुबारे एफबीआईले अनुसन्धान गर्दा त्यसमा क्लिन्टनको कुनै गल्ती नरहेको बताएको थियो ।
क्लिन्टनले आफ्ना ठूला दाताहरुसँग टेलिफोनमा कुराकानी गरेको र उक्त कुरा मिडियामा खुलासा भएको बीबीसीले जनाएको छ । क्लिन्टनले आफ्नो हारमा एफबीआई निर्देशक कोमीलाई दोष लगाएको समेत बताइएको छ ।
अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जारी प्रदर्शको चौथो दिन पनि न्यूयोर्क, सिकागो लगायत केही सहरहरुमा प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन् । विरोध प्रदर्शनको पहिलो र दोस्रो दिनले निकै उग्र रुप लिएको थियो ।
राष्ट्रपति निर्वाचनमा पराजित भएको पहिलो दिन केही नबोलेकी क्लिन्टन विस्तारै आफ्नो हारको कारण खोल्दै गएकी छन् । क्लिन्टनलाई पराजित गर्दै ट्रम्प गत बुधबार अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।