arrow

आइओएमको डिनमा सिंह नियुक्त, गोविन्द केसीले गरे विरोध

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
DIN-neyukti.jpeg

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्राध्यापक डक्टर केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि सिंहलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्राध्यापक  डक्टर जगदीशप्रसाद अग्रवाल, प्राध्यापक डक्टर केपी सिंह र प्राध्यापक डक्टर ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।

त्रिविका उपकुलपति तीर्थ खनियाँले सिंहलाई आइतबारै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए । विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका सिंहले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटक सम्म अनशन बसिसकेका प्राध्यापक डक्टर केसीले भने आइओएमको डिन नियुक्ति बरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिएका छन् ।

केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति बरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए । त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्राध्यापक डक्टर सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो ।

यता डक्डर केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिए । केसीले भने, ‘मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।’

उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको र सिफारिस भएकामध्ये डक्टर सिंह नै वरिष्ठ भएको जिरि गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ