arrow

पूर्वाधारको समस्या समाधान हुँदैछ : मन्त्री ज्वाला

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
prakash-jwala-pokhara-rss.jpg

पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार निर्माणका क्षेत्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै विकास निर्माणको कामले गति लिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजना, मध्यपहाडी राजमार्ग तथा पोखराको सेती नदीमा सिग्नेचर पुल निर्माणलगायत देखिएका समस्या हल हुँदै गएको बताए ।

मन्त्री ज्वालाले मुग्लिन पोखरा आयोजनाको पश्चिम-खण्डको काम पछिल्ला दुई महिनामा सन्तोषजनक रहेको बताए । 

उनले भने, “पश्चिम खण्डमा कामको गति अत्यन्त सुस्त भएपछि विकल्प खोज्नेमा पुगिसकेका थियौँ । हामीले पटकपटक अनुगमन र निर्माण व्यवसायीसँग बसेर छलफल गरेपछि अहिले सन्तोषजनक छ । अहिले पछिल्लो समय दुई महिनामा केही गतिमा काम भएको छ, अझै प्रगति बढाउने गरी काम गर्नुपर्दछ ।”

मन्त्री ज्वालाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको कास्कीको पोखरा खण्डमा देखिएको एलाइमेन्ट विवाद समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक पुगिएको बताए । 

पोखरा महानगरपालिका-१६ बाटुलेचौर हुँदै राजमार्ग विस्तारका लागि ठेक्का आह्वान भएपछि सो क्षेत्रका स्थानीयवासी एक वर्षदेखि आन्दोलनमा उत्रिएका छन् ।

मन्त्री ज्वालाले भने, “मध्यपहाडी राजमार्गको पोखरा क्षेत्रको समस्या समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक नजिक छौँ ।  समितिले उपभोक्ता, सर्वदलीय र सर्वपक्षीय भेला गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  पोखरामा क्लियर हुन बाँकी क्षेत्र पनि छिट्टै पूरा हुन्छ ।”

पूर्वाधार विकास र निर्माण स्थानीय सरकार, नागरिक समाज तथा सञ्चार क्षेत्र सबैको साझा सवाल भएकाले सबैको साथ र सहयोगमा मात्र त्यसलाई सम्पन्न गर्न सकिने उनले बताए ।

मन्त्री ज्वालाले निर्माण व्यवसायीले अघिल्लो आर्थिक वर्षमा गरेको कामको बाँकी रहेको भुक्तानी अब नरोकिने बताए । 

उनले चालू आवका लागि चाहिने रकमका लागि अहिलेबाट नै पहल भइरहेको जानकारी दिए ।



नयाँ