arrow

मुग्लिन-पोखरा सडक अनुगमन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
mugling-pokhara-sadak-anugaman-prakash-jwala.jpg

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको अनुगमन गरेका छन् ।

जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उनले शुक्रबार जानकारी लिएका हुन् ।

मन्त्रालयका सचिव, महानिर्देशकसहित मन्त्री ज्वालाले उक्त खण्डको अनुगमन गर्दै काममा तीव्रता दिन निर्देशन दिएका छन् ।

पश्चिम खण्डको काम निकै सुस्त भएकाले यसलाई तीव्रता दिन आवश्यक रहेको मन्त्री ज्वालाको भनाइ थियो ।

पश्चिम खण्डको काममा ढिलाइ हुँदा गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालाले निर्देशन दिए ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

मन्त्री ज्वालाले मुग्लिन-पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा निर्माण हुने पुलको समेत निरीक्षण गरे ।

व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क पुल बन्दैछ ।

पुल निर्माणका लागि आवश्यक काम भइरहेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ ।

उनले दुईवटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिए ।

हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ ।

पुल निर्माणको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ ।

आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ