arrow

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला-जिल्लामा, आज कास्कीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
bagling-rss.jpg

बागलुङ । यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।

सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार करिणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार निर्वाचनको मिति नजिकिएसँगै बागलुङसहित गण्डकी प्रदेशका जिल्ला जिल्लामा मतदाता भेटघाटमा व्यस्त छन् ।

उनीहरु मतदाताका रुपमा रहेको स्थानीय तहको सरकारप्रमुख उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुबीच भेटघाट र परिचय कार्यक्रमका लागि बागलुङ आएका थिए ।

यहाँ आयोजित कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्ष तथा यहाँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेशसभा सदस्यहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाए ।

राष्ट्रियसभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफूहरु अहिले पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेको बताए ।

“संविधान र व्यवस्थामाथि नै प्रहार भएपछि बनेको गठबन्धनको आवश्यकता अहिले पनि छ”, उनले भने, “अहिले पनि गठबन्धन नै गरेर निर्वाचनमा जाँदैछौँ, जनतामा आशा जगाउने गरी काम गर्नका लागि सरकारलाई सघाउने र जनताको प्रतिनिधिका रुपमा सरकारलाई सही मार्गमा हिँडाउनका लागि निरन्तर प्रयत्न गर्छौैं ।”

राष्ट्रियसभा सदस्य उम्मेदवार मनरुपा शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नका लागि आफूलाई राष्ट्रियसभामा भूमिका खेल्ने बताउँदै मत मागिन् । उनले गठबन्धनलाई मत माग्न जिल्ला जिल्लामा पुग्ने कार्यक्रमअन्तर्गत बागलुङ आएको बताइन् ।

राष्ट्रियसभा सदस्यका उम्मेदवार पदमबहादुर परियारले हरेक क्षेत्रलाई समावेशी बनाउन, स्थानीय तहलाई बलियो बनाउन भूमिका खेल्ने बताए ।

कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मर्मअनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामहान्त्री विष्णु लामिछानेले सबै एक ढिक्का भएर निर्वाचन जित्ने वातावरण सृजना गर्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले सहयोग गर्ने बताए ।

यता, उम्मेद्वारहरुले सोमबार कास्कीमा मत माग्ने भएका छन् । नेपाली कास्कीको पार्टी कार्यालयमा उम्मेद्वारहरुले मत माग्ने कार्यक्रम तय भएको हो । कार्यक्रम दिउँसो २ बजे हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ