arrow

रामको ससुराली जनकपुरधाममा उत्सव मनाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
janakpur-janakinagar-2079.jpg
तस्बिर – फाइल ।

जनकपुरधाम । करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ । 

अयोध्यामा बालरुपी रामको प्रतिमाको पूजापाठ गरेर प्राण प्रतिष्ठा गरिँदै छ भने भगवान् रामको ससुराली अर्थात् जनकपुरमा उल्लासको वातावरण रहेको छ । 

अयोध्यामा भगवान् राम आफ्नो जन्मस्थानमा निर्माण गरिएको मन्दिरमा प्रवेश गर्दै छन्, जसको उल्लास सारा सनातनीहरुलाई हुनु स्वभाविक नै रहेको छ । जनकपुर सीताको जन्मभूमि र भगवान् रामको ससुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ ।  

जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने सामाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र सहायक महन्थराम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उनीहरु अयोध्या पुगेका छन् भने स्थानीय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउँसो नगर क्षेत्रमा हिन्दू संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भइरहेको प्राण प्रतिष्ठाको कारणले अहिले सारा हन्दूमा उत्साहको अवस्था रहेको छ जसले जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए । 

उनले जनकपुर भगवानको ससुराली भएको कारणले गर्दासमेत यहाँको सर्वसाधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था रहेको बताए । साँझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आह्वानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ । 

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ–आफ्नो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए । 

जानकी मन्दिरमा विभिन्न हिन्दू संगठनहरुले सवा लाख दियो बाल्ने छन् । यसको लागि आवश्यक दियो र तेलको प्रबन्ध स्थानियवासीहरुको सहयोगमा गरिएको छ । 

जनकपुर नगर क्षेत्रलाई गेरुवा रंगको झण्डाले नगर सजाइएको छ भने हिजो रातिदेखि नै रंगीचंगी बत्तीले नगर क्षेत्रलाई झकिझकाउ पारिएको छ । 

राजा जनकको दरबार मानिएको जानकी मन्दिरलाई बहुरंगी बत्तीले सजाइएको  छ । यसअघि जनकपुरबाट दैनिक खाद्यान्नसहित सुनचाँदीसहित सौगातसमेत अयोध्या पठाइएको थियो । 

त्यसैगरी मन्दिर निर्माणको लागि आवश्यक विभिन्न खालको मूर्ति निर्माणको लागि कालीगण्डकीबाट शालिग्रामका देवशीलासमेत अयोध्या पठाइएको थियो । 
१५औँ शताब्दीमा मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए । 

हिन्दू धर्मावलम्बीका अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दू मन्दिरलाई खण्डित गरेर गरिएको थियो । हिन्दूहरुले यो स्थान भगवान् श्रीरामको जन्मभूमि रहेको भन्दै त्यहाँबाट मस्जिदलाई हटाउनु पर्ने माग गर्दै आएका थिए भने मुस्लिमहरुले त्यो मस्जिद रहेको भन्दै विवाद हुँदै आएको थियो । 

सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो । त्यसपछि मस्जिदको ठाउँमा मन्दिर निर्माण हुनुपर्छ भन्दै हिन्दूपक्षहर संघ संठनहरुले आन्दोलन गर्दै आएका थिए ।  

विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमा उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंश गरिएको थियो । विभिन्न मुद्दा मामिला र कानूनी विवाद र समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो । 

सन् २०१९ मा अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमा सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो ।

गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो । सन् २०२० फेब्रअरी ५ मा नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो । 

सो योजना अनुसार मन्दिर निर्माण भई मन्दिरमा भगवानको प्राण प्रतिष्ठा हुन लागेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ