arrow

आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टारको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
aaha-rara-pokhara-goldcup.jpg

पोखरा । उपाधि दाबेदार थ्रीस्टार क्लबले तेइसौँ आहा रारा पोखरा गोल्डकपमा विजयी शुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टारले आयोजक सहारा क्लवलाई २-१ गोलले पाखा लगाएको हो ।

यो जीतसँगै थ्रीस्टार आन्तिम आठमा प्रवेश गरेको छ । थ्रीस्टारले सेमीफाइनल प्रवेशका लागि शनिबार भुटानको पारो फुटबल क्लबको सामना गर्नेछ ।

खेलमा थ्रीस्टारलाई विजयी गराउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । टिम कप्तानसमेत रहेका योगेशले खेल शुरु भएको पाचौँ मिनेटमै गोल गरेर थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

खेलको शुरुआतीमै गोल खान पुगेको आयोजक सहाराले केही आक्रामक खेलेको थियो । खेलको तेइसौँ मिनेटमा आशिष गुरुङले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

थ्रीस्टारले पहिलो हाफ भन्दा दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै ५९औँ मिनेटमा गोल थप्यो र खेललाई निर्णायक बनाएको थियो । थ्रीस्टारका एञ्जलले गोल गर्दै टीमलाई विजयी गराएका हुन् ।

खेलमा थ्रीस्टारका कप्तान योगेश म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार राइजिङ स्टार एफसी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारासहित १२ टोली सहभागी छन् । प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ