arrow

देउवाको निरीहता, भन्छन्– गठबन्धन नगरी चुनाव जित्ने अवस्था छैन, चुनाव नजिते सत्ता प्राप्ति हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
sher-bahadur-deuba-kaski-haripanta.jpg

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानको व्यवस्थाअनुसार चुनाव हुँदा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नरहेको भन्दै गठबन्धन बिना चुनाव जित्ने अवस्था बनाउन आवश्यक रहेको बताएका छन् ।

पोखरामा नेपाली कांगेस कास्कीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले भने, “नेपालको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था छैन । बहुमत नहुने भएपछि कोही न कोहीसँग गठबन्धन गर्नैपर्ने हुन्छ ।”

सभापति देउवाले गठबन्धन बिना पार्टीलाई बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । उनले भने, ‘गठबन्धन नगरिकनै चुनाव जित्ने पार्टी बनाउनुस् न, गठबन्धन नगरी पार्टी बलियो बनाउनुस् न । म पनि खुसी हुँला नि गठबन्धन नभए । तर गर्ने के ? पार्टीले जित्नुपर्यो नि । सत्तामा ल्याउनुपर्यो नि । एक पटक सत्ता गयो, शेरबहादुरले बिगार्‍यो भन्नुभयो, मैले फेरि ल्याएँ । चुनाव लड्ने सत्ताकै लागि हो ।’

संसारभर नै सत्ताका लागि मारामार भएको कुराको चर्चा गर्दै सभापति देउवाले सत्ता सबैलाई आवश्यक पर्ने र सत्ताका लागि नै चुनाव जित्नुपर्नेमा जोड दिए । ‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरि नै मारामार छ,’ देउवाको भनाइ थियो ।

देउवाले सबैभन्दा ठूलो शक्ति जनता भएकाले जनसेवामा खटिन सबैलाई आग्रह गरे । ‘जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’

देउवाले कांग्रेस मास बेस्ड पार्टी नै भएकोले सदस्यता लगायतका विषयमा भएको विवाद समाधान गर्ने प्रतिबद्धता पनि जनाए । 

‘पार्टी कस्तो बनाउने भन्ने कुरा यहाँ बहस गरेर हुने होइन । कांग्रेस मास बेस्ड पार्टी नै हो । हाम्रो दुई खाले सदस्यता छ । हामीले सुरुमै एउटै सदस्यता दिनुपर्ने हो, यसबारेमा महासमिति बैठकमा हामीले छलफल गरेर निर्णयमा पुग्नुपर्छ’, सभापति देउवाको भनाइ थियो ।

अर्को प्रसंगमा सभापति देउवाले अहिले सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले नेपालमा सहकारी सुरू गरेको भन्दै उनले कांग्रेसको पक्षमा सहकारी ल्याउनुपर्ने बताए ।

‘सहकारी हामीले सुरू गरेका हौं, फेरि हाम्रो पक्षमा ल्याउनुपर्‍यो,’ उनले भने, ‘सहकारीमा देखिएका समस्या समाधान गरेर ठीक ठाउँमा ल्याउनुपर्छ ।’

पोखरा पर्यटकीय राजधानी भएकाले यसलाई अझै राम्रो बनाउनुपर्ने र ताल तलैया जोगाउनुपर्ने उनले बताए । ‘पोखरा पर्यटकीय राजधानी हो, पोखराको भविष्य राम्रो छ,’ उनले भने, ‘यहाँको तलाउ हेर्न मान्छे आउँछन्, त्यसकारण पनि तलाउहरू बचाउनुपर्छ ।’

पोखरा एयरपोर्टबाट अन्तराष्ट्रिय उडान हुन नसकेको कुरा प्रति लक्षित गर्दै देउवाले पोखरा एयरपोर्ट नेपालको आन्तरिक हिसावले नै चलाउन र नेपाली आन्तरिक जहाज उडाउन आबश्यक रहेको बताए । विदेशी जहाज पोखरा आउन सक्दैन भन्छन्,’ उनले भने,‘तर पनि पोखरा पर्यटनको राजधानी नै हो । नेपालमा फेरि विदेशी पर्यटकको संख्या बढेको छ, पोखराको भविष्य राम्रो छ ।’

संविधानमा उल्लेखित समावेशी समानुपातिक प्रणाली विश्वमै नभएको दाबी गर्दै उनले राज्यमा सबैको प्रतिनिधित्व आवश्यक रहेको बताए । ‘नेपाल सबैको देश हो हेर्नुस्, दलितको देश हो, जनजातिको देश हो, क्षेत्री बाहुनको देश हो,’ उनले भने, ‘सबैको देश भएकाले सबैको सहभागिता राम्रो छ ।’

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा शशांक कोइरालाले राज्यसहित पार्टी संरचनामा महिलाहरुलाई ३३ प्रतिशत भन्दा बढी सहभागी गराउन सके राम्रो हुने बताउदै नेपाललाइ धर्म निरपेक्ष नभई सापेक्ष बनाउन जरुरी रहेको बताए । 

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अर्का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका उर्जा मन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका मन्त्री दीपेन्द्र बहादुर थापा, केन्द्रीय सदस्यहरु प्रदिप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल र उर्मिला थपलिया लगायतले काँग्रेसको संगठन बलियो बनाउन सबै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

यसैगरि गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की काँग्रेसका पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशसभा सदस्यहरु बिन्दु कुमार थापा, सरस्वती गुरुङ र प्रकाश बराल, कास्की काँग्रेसका उपसभापति युवराज कुँवर र रामबाबु भण्डारी, सदस्य सुदिपमोहन भट्टराई, सचिव भानु ढकाल र देवेन्द्र रानाभाट, सहसचिव शंकर ढुंगाना, क्षेत्रीय सभापति मनोज गुरुङ, तरुण दलका कास्की जिल्ला उपसभापति दीपक गुरुङ, प्रदेश सभापति दिनेश आचार्य, वडाध्यक्ष दिवसमान प्रधानांगले बोलेका थिए । 

सम्मेलन जिल्ला सभापति किशोर बरालको सभापतित्वमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ