arrow

स्वास्थ्य मन्त्रालयको प्रस्ताव लत्यायो मन्त्रिपरिषद्ले, सुजातालाई उपचारका लागि ५० लाख !

मन्त्रीपरिषद् बैठक : अरु के भो निर्णय ?

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
mantriparisad-news-aajjj.jpeg

काठमाडौं । सरकारले पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्रालयले मन्त्रीपरिषदमा लगेको विशिष्ठ व्यक्तिको उपचारका लागि १५ लाखभन्दा बढी रकम उपलब्ध नगराउने निर्णयलाई किनारा लगाउँदै आइतबार बसेको मन्त्रीपरिषद् बैठकले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । केही दिन अघि स्वास्थ्यमन्त्रालयले कार्यविधिनै बनाएको थियो ।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५० लाख दिन आग्रह गरेको खबर बाहिर आएको थियो । कोइराला उपचारका लागि आइतबारै सिंगापुर गएकी छन् । केही दिन अघि ब्रेष्टको शल्यक्रिया गरेकी कोइरालाले थप उपचारका लागि सरकारसँग गुहार मागेकी हुन् । सरकारसँग कोइरालाले उपचारका लागि १ करोड रुपैयाँ उपलब्ध गराउन समेत भनेकी बताइँदैछ ।

कार्यक्रमको सिलसिलामा मलेसिया रहेका बेला अस्वस्थ भई अस्पताल भर्ना हुँदा कोइरालालाई स्तन क्यान्सर भएको पत्ता लागेको हो । क्यान्सर पत्ता लाग्नासाथ मलेसियामै शल्यक्रिया गरी कोइराला केही दिनमै नेपाल फर्किएकी थिइन् । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका बेला कांग्रेस नेताको जमघटमा उनको स्वास्थ्यबारे कुरा चलेपछि संचारमाध्यममा समाचार आएका थिए ।

बैठकको अन्य निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दरबन्दी थप गर्ने, उर्जा संकट समाधान र सौर्य उर्जाको व्यवस्थाका लागि एसियाली विकास बैंकबाट २ अरब १२ करोड रकमका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले जनता आवास कार्यान्वयन कार्यविधिलाई मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिमा पठाउने, संयुक्त राष्ट्र संघको क्षेत्रीय शान्ति तथा निशस्त्रीकरणको कार्यालय नेपालमा ल्याउन पहल गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ