arrow

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा गीताप्रेस नेपालबाट पशुपतिमा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
gitapress-2080-10-08.jpg

काठमाडौँ । अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठा धूमधामका साथ सम्पन्न भएको छ । सो अवसरमा भारतमा मात्र नभएर विश्वभरका समस्त सनातनीहरुले आ–आफ्ना क्षेत्रमा रहेका राम मन्दिर तथा देवालय, मठ मन्दिरहरु पुगी पूजा, पाठ, प्रसाद  वितरणसहित दीपावली गरेर हर्ष उल्लासका साथ श्रीरामका चरणकमलमा श्रद्धा भक्ति अर्पण गरे । 

यस अवसरमा विशेषतः गीताप्रेस गोरखपुरको भारतमा रहेको सबै बिक्री केन्द्रहरुमा झैँ नेपालको डीपोमा पनि १२ बजेर २९ मिनेटमा हनुमान चालिसा पाठ एवं श्रीरामको आरती, प्रसाद वितरण दीपावली गरी मनाइएको थियो । यस अवसरमा गीताप्रेस गोरखपुरमा अत्यन्त भव्य कार्यक्रम आयोजन गरिएको थियो । 

नेपालमा गीता प्रेसबाट प्रकाशित सत् साहित्यहरुको प्रचार प्रसार एवं विभिन्न उत्सवहरुमा प्रसादको रुपमा पुस्तकहरु वितरण गर्दै आइरहेको रजिष्ट्रर्ड संस्था गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले यस पावन अवसरमा विभिन्न सामाजिक धार्मिक संस्थाहरुबाट भएका कार्यक्रमहरुमा र मठ मन्दिरहरुमा झण्डै दश हजार भन्दा बढी पुस्तक प्रसाद स्वरुप वितरण गरेको जनाएको छ । 

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तर्फबाट यस विशेष उत्सवको अवसरमा हनुमान चालीसा सुन्दरकांड, रामायणका केही आदर्श पात्रहरु, प्रमुख आरतीयाँ, हनुमान बाहुक सहित कल्याण पत्रिकाको मासिक अंक प्रसाद स्वरुप वितरण गरिएको थियो । यस कार्यमा सहयोग गर्ने संस्थाका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक आभारसमेत प्रेसले व्यक्त गरेको छ । 

सोही अवसरमा भगवान् श्री पशुपतिनाथ मन्दिरमा आयोजित आरती कार्यक्रममा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष श्री जय किसन सारडाले उपस्थित भक्तजनलाई पुस्तक वितरण गर्दै सो कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा विगत ९८ वर्षदेखि गीताप्रेसद्वारा प्रत्येक वर्षको जनवरी महिनामा कल्याण पत्रिकाको विशेषाङ्कसहित ११ महिनाको पत्रिका भारतकै वार्षिक सदस्यता शुल्कमा उपलब्ध गराउँदै आइरहको जनाएको छ । 

यस वर्ष भगवान् श्रीरामको पावन जन्मभूमि अयोध्यामा श्रीराम मन्दिर प्राण प्रतिष्ठा समारोहको अवसर पारी कल्याण २०२४ को विशेषाङ्कको रुपमा आनन्दमय रामायण प्रकाशित भएको जानकारी गराउँदै कल्याण २०२४ को सदस्य बनी विशेषाङ्कको रुपमा प्रकाशित आनन्दमय रामायण आफ्नो प्रति सुरक्षित गर्न एवं आफ्ना इष्टमित्र, छिमेकी, साथीभाइहरुलाई पनि जानकारी गराइदिन अनुरोध गरिएको थियो । 

गीताप्रेसबाट प्रकाशित सत् साहित्यहरु खरिद गरी वैवाहिक उत्सव, जन्मोत्सव, व्रतबन्ध, सप्ताह, धार्मिक अनुष्ठानहरुमा मायाको चिनोको रुपमा सप्रेम प्रदान गर्ने संस्कार पनि दिनदिनै बढ्दै गइरहेको पनि गीताप्रेसले जनाएको छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ