arrow

१९ जनाको भाग्य खुल्दै 

बिहीबारको राष्ट्रिय सभा निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न आयोगको आग्रह

बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न-गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

उक्त निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले कानूनी व्यवस्थाबमोजिम  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मंगलबार मध्यरातिदेखि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।

आयोगले प्रचारप्रसार निषेधको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

 निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को ब्यवस्था बमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरुमा आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न निर्देश गरेको छ । 

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ । कानूनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने  व्यवस्था छ । 

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ ।

हाल कायमा प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन
    
 यसैबीच प्रचारप्रसार निषेधको अवधिमा मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन रु सत्यतथ्य बुझी  प्रतिवेदन दिन भनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ