arrow

एउटै पार्टीको बहुमत नभएकाले गठबन्धन गर्नुपर्‍यो : सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
sher-bahadur-deuba-syangja-rss.jpg

वालिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एउटै पार्टीले बहुमत प्राप्त नगरेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले बाध्यतावश गठबन्धन गर्नुपरेको बताए ।

कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।
“पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उनले भने, “कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”

नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो ।

जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताए ।

कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

उनले भने, “हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ ।”

कार्यक्रममा पूर्वमहामन्त्री शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ