- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लिबाङ (रोल्पा) । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दी गृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् ।
झोलामा कापी कलम बोकेर स्कूल जाने उमेरका यी नाबालकहरुले यसरी जेल जीवन विताउनु पर्दा उनीहरुको कलिलो बाल मष्तिष्कमा भोलि कस्तो असर पर्ला ? यस विषयमा समयमै बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको ध्यान जान जरुरी छ ।
अपराध जन्य घटनामा संलग्न भएपनि उमेर नपुगेका बालबालिकालाई पनि कारागारमा थुनामा राख्न मिल्दैन । यद्यपि, संरक्षण गर्ने अभिभावक नहुँदा उनीहरु आमासँगै जेल जीवन गुजार्न बाध्य छन् । बन्दी गृहमा छिरेसंगै यी बालबालिकाले पोषण युक्त खानेकुरा खान त के देख्न सम्म पाएका छैनन् । न त यी बालबालिकाहरुसंग कुनै खेलौना नै ।
साँझ बिहानको दुई छाक खाना र चाउचाउ विस्कुटले मात्र कसरी उनीहरुको शारिरीक र मानसिक वृद्धि विकास होला यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्नै पर्छ । रोल्पाको कारागारमा कारावासको जीवन बिताउने नाबालकहरुमा महत –५ रुकुमका साडे ३ वर्षका शक्तिमान पुन, इरिबाङ –३ रोल्पाका ३ वर्षका हुकुम पुन, थबाङ–८ रोल्पाका साडेतीन वर्षका आशा नेपाली र रन्मामैकोट रुकुमका–३ वर्षका मीरा विक छन् ।
शक्तिमान पुनकी आमा दिलकुमारी पुनले २०७२ चैत ३ गते आफ्ना श्रीमान् र सासूलाई धारिलो हतियार प्रयोग गरी मारेको कसुरमा १० वर्षका लागि कैद सजाय भुक्तान गरिरहेकी छन् । पुनका अनुसार घरमा श्रीमान् र सासु मरेपछि बच्चाको स्याहार सुसार गर्ने अन्य जिम्मेवार व्यक्ति कोही नभएकाले बालकलाई बन्दी गृहमा आफूसँगै राख्नु परेको हो । उनका अन्य दुई छोराहरुपनि गाउँमै अलपत्र छन् ।
यस्तै, हुकुम पुनकी आमा बिमला पुनले श्रीमान् विदेश गएका बेला देवर नाता पर्ने गोविन्द पुनमगरसँग पटक–पटक अनैतिक सम्बन्ध राखेको र विमलाका सौताका छोरा १२ वर्षीय भरत घर्तीमगरले पटक–पटक देखेका हुँदा भरतले समाजमा सबैसँग खुलासा गर्ने डरले विमला र गोविन्दले बच्चाको घाँटी थिचेर २०७३ साउन १० गते हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेपछि हुकुम पनि आमासँगै कारगार कार्यालयमा बन्दीगृहमा दिन गुजार्न बाध्य छन् । घरमा बच्चालाई स्याहार सुसार गर्ने कोही नभएको हुँदा हुकुम आमासंगै बस्न बाध्य भएको हुकुमकी आमाले बताइन् ।
यसैगरी, आशा नेपालीकी आमा जालकुमारी नेपाली ज्यानमार्ने उद्योगको कसुरमा २०७३ कार्तिक १२ गतेदेखि थुनामा परेसँगै आशापनि आमासंगै जेलभित्र बस्न बाध्य छिन् । बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आफैसँग राख्दै आएको जालकुमारीले बताएकी छन् ।
मीरा विकको कथा पनि उस्तै छ । आमा लगन विकले २० वर्षका लागि कैदी जिवन बिताइरकालेसँगै मीरापनि कारागार कार्यालय रोल्पामा बन्दी गृहमा बस्दै आएकी छन् ।
२०७२ साल फागुन २ गते आमा स्थानान्तरण भइ रोल्पा आएदेखि उनी पनि जिल्ला कारागार कार्यालय रोल्पाको बन्दी गृहमा जेल जीवन बिताउन बाध्य भएकी हुन् । लगनका अनुसार घरमा बच्चाको स्याहार सुसार गर्ने कोही छैन । माइतीमा पनि कसैले हेर्ने अवस्था नभएको हुँदा मीरा आफुसँगै बन्दी गृहमा बस्दै आएकी छन् ।
यसरी बन्दीगृहमा जेल जीवन बिताइरहेका बालबालिकाहरुको भविष्य तर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान गएको छ समाजसेवी हुकुमा सुवेदीले भने । उनका अनुसार बालअधिकारका क्षेत्रमा काम गर्ने एनजीओ तथा आइएनजीओहरु पनि बालबालिकाको क्षेत्रमा चर्काचर्का नारा लगाउनमै व्यस्त छन् । उनले भने, ‘यी बालबालिकालाई नारा होइन सहयोगी हातहरुको खाँचो छ सुवेदीले भने ।
यता, जिल्ला कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार यी बालबालिकाहरुका लागि कार्यालयले दैनिक १५० ग्राम चामल र १० रुपैयाँ बाहेक अन्य कुनै किसिमको छुट्टै व्यवस्था गर्न सकेको छैन ।
उनका अनुसार आमाको इच्छा वा पारिवारीक बाध्यताका कारण उनीहरुपनि आमासंगै भित्र बस्दै आएका हुन् । आमाले दिएमा वा कुनै सहयोगी निकायले लिएमा यी बालबालिकालाई सहयोग गर्न सकिन्छ तर आजसम्म यिनीहरुको बारेमा कसैले केही चासो देखाएएका छैनन् –रेग्मीले भने ।
यस्तै जिल्ला बाल कल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्ण पुनले यस विषयमा आफू र आफ्नो कार्यालय निकै गम्भीर भएको बताउदै यी बालबालिकाहलाई आपतकालिन सहयोग गर्न सकिने जानकारी दिए ।
साथै यसरी कारागारभित्र रहेका बालबालिकाहरुका संरक्षकको हदम्याद लामो हुने अवस्था भएमा तिनीहरुको लागि पारिवारीक पुनःस्थापना या जिल्ला स्तरमै विद्यालयमा भर्नाका लागि पहल गर्न सकिने उनले सुनाए ।
तर, आपतकालिन सहयोग अन्तर्गत बालबालिकाकाहरुका लागि स्कूल पोशाक, पाठ्य पुस्तक, पोषण योग्य खानेकुराहरु र विभिन्न किसिमका खेलौनाहरु उपलब्ध गराउन सकिने प्रावधान रहेपनि यी बालबालिकाहरुले आजसम्म केही पाउन सकेका छैनन् ।
जिल्ला कारागार कार्यालय रोल्पाका प्रहरी सहायक निरिक्षक कुलबहादुर रावतले भने, ‘हामीलाई सरकारले यी बालबालिकाको लागि भनेर केही पनि उपलब्ध गराएको हुँदैन । कुनै संघ संस्था वा परिवारले केही दिएमा भित्र दिन सकिने थियो तर कतैबाट कुनै किसिमको सहयोग भएको छैन । हामीले संरक्षण दिने हो दिएकै छौं त्यसबाहेक चाहेरपनि केही गर्न सक्दैनौं ।’
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भनेका छन्, ‘कुनै सहयोगी हातहरु वा संघसंस्थाहरुले चासो गरेमा वा आमाले विश्वास गरेमा यी बालबालिकालाई हामी स्थान दिन्छौ । अन्यथा हामीसंग कुनै उपाय छैन ।’ बत्तीमुनी अधेँरो भने झै जिल्ला कारागार कार्यालय रोल्पा र तुल्सी आवासीय माध्यमिक विद्यालयको आगन एउटै हो । बीचमा एउटा पर्खालमात्रै छ ।
यस्तै, १०० मिटरको दुरीमा बाल मन्दिर विद्यालय छ । त्यहाँसम्म पुग्नका लागि यी बालबालिको पहँुच छैन । कसैले पर्खाल बाहिर लान सक्ने व्यवस्था मिलाउन सके शिक्षाको उज्यालो पाउनबाट हुने थिएनन् यी चिचिलाहरु ?