arrow

सुदूरपश्चिममा गठबन्धनका तीनै जना निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
bohora-bhatta-chanda-nation.jpg

सुदूरपश्चिम । राष्ट्रिय सभा सदस्यमा  सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदापछिको मतगणना अनुसार नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन् ।

अन्य समूहतर्फ कांग्रेसका बोहरा, अपाङ्गतातर्फ कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादीकी चन्द निर्वाचित भएकी हुन् ।

अन्य समूहमा बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गरे अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गरे । 

साथै महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए । 

कूल ५२ प्रदेश सभा सदस्य र एक सय ७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी भए । साथै दुई जना जनप्रतिनिधि अनुपस्थित रहे । 

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बझाङका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि सवारी दुर्घटनामा निधन भएको थियो । त्यसैगरी यही माघ ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो ।
    
प्रदेश सभा सदस्य मतदातातर्फ एक मत र पालिका तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मतदातातर्फ दुई मत बदर भएका छन् ।

धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा मतदानस्थल तोकिएको थियो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिला कोटाबाट निर्वाचित नेकपा एमालेकी इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) कैलालीका हरिराम चौधरी (उत्सव) को पदावधि आगामी फागुनमा सकिन लागेकाले यी तीन पदका लागि निर्वाचन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ