arrow

गगन थापाको संवाद यात्रा आजदेखि, शर्मा र सिटौला जोडिँदै, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
gagan-thapa-sambad-yatra.jpg

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको संवाद यात्रा आजदेखि झापाबाट शुरु हुँदैछ । थापाले अहिले बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्दैछन् । 
 
समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री एवं बिहीबार मात्रै राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।

महामन्त्री थापाले मेचीपुलमा माल्यार्पण गरेर संवाद यात्रा यात्रा शुभारम्भ गर्नेछन् ।पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

महामन्त्री थापा शनिबार विहान ९ः३० देखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिक सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ । 

थापाले बुधबार बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३०ेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी, कुञ्जिबारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरगाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उनको संवाद यात्राको तालिका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् । 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । 

संवाद यात्रा माघ २६ गते सकिने महामन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए । ‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गर्नेछन् । 

नेताहरु चर्काचर्का भाषण गर्ने तर जनताका बेथा के कस्ता छन् त भन्ने केही जानकारी लिन नखोज्ने भएकाले गर्दा पनि समुदायमा कांग्रेस अन्तर्गत थापाले संवाद यात्रा थाल्ने भएका हुन् । 

वडा वडा तहमै भेला भएको सानो समूहमै रहेर स्थानीयका भित्री पाटो र कांग्रेसको अवस्था गहन रुपमा बुझ्ने अवसर गगनलाई हुनेछ । 

यसले स्थानीयका पीरमर्का र चाहना बुझ्दा भोलिका दिनमा योजना बनाउन सजिलो हुनेछ भने कांग्रेसबारेको अवधारणा बुझ्दा कांग्रेस कहाँनेर अब्बल र सुधार गर्नुपर्ने विषय के छ त भन्नेबारेसमेत बुझ्न सहज हुनेछ । 

गगनले पटक पटक स्थानीयसँग संवाद गर्नुपर्ने जोड पार्टीमा उठाउँदै आएका छन् । सोही अनुसार अन्य नेताहरु पनि गाउँ गाउँमा पुगेर समुदायसँग कांग्रेस हुनुपर्ने आवाज उठिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ