arrow

समुदायमा कांग्रेस र संवाद यात्रा झापाबाट शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
samudayama-congress-abhiyan.jpg

झापा । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ झापाको मेची पुलबाट शुरु भएको छ। यही अभियानकै क्रममा महामन्त्री गगनकुमार थापा यहीबाट हुलाकी मार्गका नागरिकसँग संवाद यात्रामा निस्किएका छन् । 

महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री एवं राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कृष्णप्रसाद सिटौला र १४ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल सहितका नेताहरु झापाको संवाद यात्रामा जोडिएका छन् ।

पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा थालेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो । महामन्त्री थापाको संवाद यात्राको तालिका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् । 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । 

संवाद यात्रा माघ २६ गते सकिने महामन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए । ‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गर्नेछन् । 

नेताहरु चर्काचर्का भाषण गर्ने तर जनताका बेथा के कस्ता छन् त भन्ने केही जानकारी लिन नखोज्ने भएकाले गर्दा पनि समुदायमा कांग्रेस अन्तर्गत थापाले संवाद यात्रा थाल्ने भएका हुन् । 

वडा वडा तहमै भेला भएको सानो समूहमै रहेर स्थानीयका भित्री पाटो र कांग्रेसको अवस्था गहन रुपमा बुझ्ने अवसर गगनलाई हुनेछ । 

यसले स्थानीयका पीरमर्का र चाहना बुझ्दा भोलिका दिनमा योजना बनाउन सजिलो हुनेछ भने कांग्रेसबारेको अवधारणा बुझ्दा कांग्रेस कहाँनेर अब्बल र सुधार गर्नुपर्ने विषय के छ त भन्नेबारेसमेत बुझ्न सहज हुनेछ । 

गगनले पटक पटक स्थानीयसँग संवाद गर्नुपर्ने जोड पार्टीमा उठाउँदै आएका छन् । सोही अनुसार अन्य नेताहरु पनि गाउँ गाउँमा पुगेर समुदायसँग कांग्रेस हुनुपर्ने आवाज उठिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ