arrow

बाबुरामका स्वकीय विश्वदीपका पिता ‘सांसद’ पाण्डे रहेनन्

युद्धताका सारा बन्दोबस्त गर्ने ‘चाचा’ले क्यान्सरलाई जित्न सकेनन्

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
bhakti-prasad-pandey.jpeg

काठमाडौं । क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ । सांसद पाण्डेको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा सोमबार निधन भएको हो । सांसद पाण्डे एक वर्ष यता क्यान्सरबाट ग्रस्त थिए ।

अर्घाखाँचीका सांसद पाण्डेको निधन भएको छोरा विश्वदीप पाण्डेले जानकारी दिए । विश्वदीप नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका स्वकीय सचिव हुन् । ६२ वर्षीय पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने बताइएको छ ।

माओवादी समूहभित्र चाचा उपनामले चिनिने पाण्डे द्वन्द्वकालमा आपूर्ति विभाग  केन्द्रीय सदस्य हुँदै पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताइन्छ । भक्ति प्रसाद पाण्डे (‘चाचा’र ‘महेश’) नामले पनि पाण्डे चिनिन्थे । युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए ।

पाण्डे सानैदेखि विद्रोही स्वाभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बने । ८ कक्षा पढ्दै गर्दा देखि अनेरास्ववियूको गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सदस्य बनेका पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति शुरु गरेका थिए ।

पुष्पलाल समूह, नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडेका बताइन्छ  ।

पाण्डेका एक छोरा, दुई छोरी छन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित सांसद पाण्डे २०७० मा संविधान सभामा तत्कालिन एनेकपा (माओवादी) को तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका हुन् । हाल व्यवस्थापिका–संसद्मा नेकपा माओवादी केन्द्रको तर्फबाट सदस्य रहेका पाण्डेको पुस्तक ‘आत्मकथा’ (प्रकाशोन्मुख) रहेको छ ।

यस्तै,  निधन अघि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेर हिजो लडेकै जसरी क्यान्सरसँग लड्न सक्नु हुन्छ भनेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ