arrow

संग्रहालयमा रातो मच्छिन्द्रनाथकाे रथयात्रा र हनुमान ढोकाका तस्बिर प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
pokhara-international-musuam-bikash-magar.jpg

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकाे २१औं दिवसमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्बिर प्रदर्शन गरिने भएको छ ।

माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्बिर पोखरामा प्रदर्शन गरिन लागिएको हो ।

संग्रहालयकी निर्देशक निर्मला न्यौपानेले पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा उक्त फोटो प्रदर्शनी गर्न लागेको जानकारी दिइन् ।

सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनी गरिने उनले बताइन् ।
साथै हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्बिरहरु पनि प्रदर्शनमा राखिने भएको छ ।

‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेका चित्र, तस्बिर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव तथा जनजीवन झल्किने फोटो पोखरामै हेर्ने व्यवस्था मिलाएका छौं,’ न्यौपानेले भनिन् ।

उक्त अवसरमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शीलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर प्रदर्शन गरिने संग्रहालयले जनाएको छ ।

यसैगरी महोत्सवमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौंथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौंथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस उत्वसको उद्घाटन पोखराका मेयर धनराज आचार्य र ललितपुरका मेयर चीरिबाबु महर्जनले संयुक्त रुपमा गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ