arrow

अमुक व्यक्तिका कारण पनौती नगरसभामा सधै विवाद 

संगठन तथा व्यवस्थापन सर्वेक्षणका विषयमा विवाद हुँदा नगर सभा स्थगित 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० माघ १८ बिहिबार
panauti-nagarpalika-2080-10-18.jpeg

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा कार्यरत एक व्यक्तिको विषयलाई उपप्रमुख र उनी निकट जनप्रतिनिधिले प्रतिष्ठाको विषय बनाएपछि पनौती नगर सभा सधै विवादित बन्ने गरेको छ । 

नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) मा वरिष्ठ प्रशासकीय अधिकृतको पद समावेश नभएपछि एमालेबाट निर्वाचित उपपप्रमुख र जनप्रतिनिधिले त्यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् । 

एमालेले प्रदेश कानून विपरीत वरिष्ठ प्रशासकीय अधिकृतको पद कायम नै राख्नुपर्छ भन्ने अडान राखेको छ भने नगरपालिकाले भने प्रदेश कानून प्रतिकूल नहुने गरी विज्ञ समूहले दिएको प्रतिवेदन अनुसारको ओएण्डएममा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) लागू हुनुपर्ने बताउँदै आएको छ । 

बिहीबारको नगर सभा बैठकमा सोही विषयले तनाव हुने देखिएपछि बैठक शुरु भएलगत्तै नगर प्रमुख रामशरण भण्डारीले बैठक स्थगित गरेका थिए । एमाले निकट नगर सभा सदस्यले विज्ञहरुको सुझाव भन्दा नगरको सुशासन समितिले गरेको प्रस्ताव अनुसार हुनुपर्ने अडान राख्दै बैठक नै चल्न नदिने तयारी गरेपछि नगर प्रमुख भण्डारीले बैठक स्थगित गरेका थिए । 

सुशासन समितिले तयार गरेको दरबन्दी तेरिज प्रदेश कानून विपरीत छ । कानून विपरीत कर्मचारी नियुक्ति, सरुवा लगायतका अधिकार कार्यपालिकालाई प्रस्ताव गरिएको छ । 

वडाले नै कर्मचारी नियुक्ति गर्न पाउने  कानून विपरीत प्रस्ताव नगरपालिकाको सुशासन समितिले गरेको छ । महालेखा परीक्षकको कार्यालयले पनि करारका कर्मचारीका कारण नगरपालिकामा व्ययभार भएको भन्दै बेरुजु औँल्याएपछि पनौतीले ओएण्डएममार्फत कर्मचारी व्यवस्थापन गर्न लाग्दा पार्टी निकट पुराना कर्मचारी हट्ने लगायतका कारण एमाले तर्सिएर नगर सभा नै बहिष्कार गर्दै आएको नेपाली कांग्रेस निकट एक जनप्रतिनिधिले जानकारी दिए । 

नगर प्रमुख रामशरण भण्डारीले महालेखा परीक्षकलेसमेत औँल्याएको विषयमा व्यवस्थापन गर्न खोज्दा सधै विवाद जस्तो देखिएको बताए ।

 ‘हामीले कर्मचारी व्यवस्थापन, दरबन्दी सिर्जना गर्दै सेवा प्रवाह व्यवस्थित गर्न लागेका हौँ, तर एक थरी साथीहरु हाम्रा मान्छे हटाउने, नगर प्रमुखले आफ्ना मान्छे नियुक्ति गर्ने बुझेर अप्ठ्यारो सिर्जना गर्न लाग्नुभयो’, नगर प्रमुख भण्डारीले भने, ‘सरकार भनेको निरन्तर जाने कुरा हो, हामीले विधि बनाउन खोजेका हौँ, भोलि हामी नेतृत्वमा नहुन सक्छौँ, उहाँहरु हुन सक्नुहुन्छ, हामीले एउटा प्रणाली विकास गर्न खोजेका हौँ ।’ 

नगर उपप्रमुख गीता वञ्जाराले के कारणले नगरसभा स्थगित भयो भन्ने आफूलाई जानकारी नभएको बताइन् । ओएण्डएम पारित गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै एक्कासी स्थगित हुँदा अचम्मित भएको बताइन् ।

 ‘कुनै एक व्यक्तिको पक्षमा राखेर हामीले विवाद गर्दैनौँ, गरेका छैनौँ’, उनले भनिन्, ‘कार्यपालिकाले गरेको निर्णय पास गर्न तयार छौँ, दरबन्दी तेरिज फेरिएको बारे मलाई जानकारी छैन ।’ 

ओएण्डएमको विषय नगर सभामा प्रवेश गर्ने कार्यसूची भएपछि अघिल्लो नगर सभा पनि स्थगित भएको थियो । उक्त प्रस्ताव फिर्ता भएपछि मात्रै नगर सभा सञ्चालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ