arrow

संसदमा लाेकमानविरुद्ध भाषणवाजी, संसदबाहिर लोकमानको पक्षमा नारावाजी !

याे कुन् तन्त्र ?

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
lokmanko-pakshama-naraaji-new.jpeg

काठमाडौं । व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे छलफल भइरहँदा सडकमा उनको पक्षमा नारावाजी भएको छ ।

सदनमा सांसदहरुले चर्को भाषण गर्दा सडकमा ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने आवाज उठेको छ ।

सोमबारको संसद बैठकमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत महाभियोग प्रस्ताव विधिसम्मत रुपमा नआएको बताए । सत्तासाझेदार दललाई जानकारी नै नदिई महाभियोग प्रस्ताव सदनमा पेस भएको बताउँदै उनले प्रस्तावमा नै समस्या रहेको उल्लेख गरे ।

एमाले सांसद युवराज ज्ञवालीले नेपालको संविधान, व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावलीअनुसार नै सदनमा प्रस्ताव दर्ता गरिएको भन्दै कोही कसैले शंका नगर्न र प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरे ।

माओवादी सांसद श्यामकुमार श्रेष्ठले मुलुकका कुनै पनि व्यक्ति संविधान र कानुनभन्दा माथि नभएकाले पदको दुरुपयोग गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउन महाअभियोग प्रस्ताव ल्याइएको बताए । उनले सो प्रस्ताव दर्ता गर्नुअगावै सार्वजनिक महत्वको प्रस्तावका रुपमा सदनमा दर्ता गरिएकाले सदनको सम्पूर्ण सदस्यले उचित निर्णय गर्नुपर्नेमा जोड दिए ।

सांसद शिवलाल थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति प्रक्रिया नै गलत भएकाले महाभियोग प्रस्तावमार्फत त्यसलाई सच्याउने मौका आएको उल्लेख गर्दै उनलाई सो पदमा नियुक्ति गर्न आवश्यक रहेको कारण प्रमुख तीन दलका नेताले सदनलाई दिनुपर्ने बताए ।

सांसद रामेश्वर फुयाँलले अख्तियार प्रमुखले समानान्तर सरकार चलाएको, संसदीय समितिलाई अटेर गरेकाले संविधानको परिपालनाका लागि महाभियोग प्रस्ताव पेश गरिएको विचार राखे । सांसद गङ्गालाल तुलाधरले लोकतन्त्रको रक्षाका लागि सदनमा महाभियोगको प्रस्ताव दर्ता गरिएकाले त्यसलाई पारित गर्नुपर्ने बताए ।

सांसद राजेन्द्रकुमार केसीले कार्कीलाई अख्तियारमा नियुक्ति गर्ने प्रक्रिया के थियो, कसरी नियुक्त गरियो भन्नेमा आममानिसलाई थाहा भएको धारणा राख्दै विगतमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव किन अगाडि बढेन भन्ने प्रश्न गरे । सांसद बुद्धिराम भण्डारी र कमला शर्माले सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली लोकोक्ति जस्तै संविधान र कानून सबैलाई लाग्नुपर्ने भएकाले सदनमा महाभियोग प्रस्ताव दर्ता गरिएको हो भने । संसद्को अर्को बैठक मङ्सिर १ गते वुधबार ११ बजे बस्नेछ ।
 

सडकमा लोकमान समर्थकको जुलुस
सोमबार काठमाडौंमा लोकमान सिंह कार्की समर्थकले राजधानीमा मोटरसाइकलसहितको जुलुस निकालेका छन् । कार्कीेविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल भइरहेकै समयमा संसद भवन नयाँ बानेश्वर अघि नै प्रदर्शन भयो ।

माइतीघरबाट निस्किएको जुलसमा गेरुबस्त्र लगाएका र राष्ट्रिय झण्डा बोकेका महिला मात्रै थिएनन् दाह्री पालेका देखि आमाको काखबाट बाहिर नआएका बालकालिकाहरु पनि देखिए ।

जुलुसको अगुवाई अधिवक्ता बालकृष्ण न्यौपानेले गरे । उनी एकताका राप्रपा नेपालमा आवद्ध र्थि । राप्रपा नेपालको कारबाहीपछि न्यौपानेले अहिले पुरानो शक्ति नेपाल नामक संगठन चलाइरहेका छन् ।

यस्तै, महाभियोग प्रस्ताव रोक्न कार्की नजिकका कानून व्यसायिहरु लागि परेका बताइँदैछ । यसअघि कार्कीले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव रोक्नकै लागि कानून व्यवसायिमार्फत सर्वोच्चमा रिट दिन लगाएका थिए । पछि त्यो रिट सर्वोच्चले बदर गरिदियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ