arrow

फलामखानीमा लगाइएको चियाखेती अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
tea.jpg.jpeg
फाइल तस्बिर

पर्वत । दक्ष जनशक्तिको अभावमा जिल्लाको महाशिला गाउँपालिका-६ फलामखानीमा लगाइएको चियाखेती अलपत्र बनेको छ ।

साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट वार्षिकरुपमा लाखौँको आम्दानी गर्न सकिने भए पनि प्राविधिक तथा तालिम प्राप्त जनशक्ति नहुँदा अलपत्र जस्तै बनेको हो ।

झन्डै डेढ दशकअघि लगाइएको चियाखेतीबाट पहिला पटक दुई वर्षअघि १० किलोग्राम जैविक चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनःअलपत्र जस्तै बनेको वडा नं ६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए ।

यहाँ १४ हजारभन्दा बढी चियाका बोट रहेका छन् । विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरनमा परिणत भएको थियो ।

उतिबेला २० हजार बिरुवा लगाइएकामा संरक्षणको अभावमा झण्डै १० हजार मात्रै कायम रहेका थिए । दुई वर्षअघि थप चार हजार गरी १४ हजारभन्दा बढी बोट उत्पादनका लागि तयार भए पनि मुना टिप्न र प्रशोधन गर्न जनशक्ति नुहँदा अलपत्र बनेको विकले बताए ।

गाउँपालिकाले आगामी वर्ष थप ४० हजार बिरुवा रोप्नेगरी नर्सरीसमेत तयार गरेको अध्यक्ष विकले बताए । चार वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताए ।

साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो ।

इलामको जस्तै हावापानी भएकाले यहाँ चियाखेतीको सम्भावना रहेको छ । इलामको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरिए पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।

करिब १८ सय मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चियाखेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो ।

नगदेबालीका रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविसले ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुआत गरेको थियो ।

साविकको गाविस-४ र ५ नं वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जिवितै रहेका थिए । अहिले स्थानीय समुदाय चियाखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

आगामी वर्ष थप ४० हजार बिरुवा रोपेपछि यसलाई व्यावसायिकरुपमा उत्पादन तथा प्रशोधनसमेत गरिने गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।

गाउँपालिकाले बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । गत वर्ष गण्डकी प्रदेशबाट लक्षित कार्यक्रमअन्तर्गत विनियोजन भएको रु २० लाखबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको पालिकाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ