arrow

संघीय लोकतान्त्रिक व्यवस्था पूर्ण कार्यान्वयनको प्रक्रियामा : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
surendra-raj-panday-cm-gandaki-rss.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको मार्गदर्शन अनुरुप संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्ण कार्यान्वयनको प्रक्रियामा आफूहरू रहेको बताए ।

गण्डकी प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै प्रदेश सभालाई जीवन्त र जनमुखी बनाइ लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई समावेशी र समन्यायिक तवरले जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको उल्लेख गरे ।

संविधानवादका दृष्टिले उत्कृष्ट मानिएको वर्तमान संविधानको कार्यान्वयनका लागि प्रदेशसभाको भूमिकालाई एकताबद्ध गरी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता मुख्यमन्त्री पाण्डेले औँल्याए ।

प्रदेशसभाको छ वर्ष व्यतित भइसकेको सन्दर्भलाई मध्यनजर गर्दा प्रदेशसभाले निर्णय गरेका कानुनको सामाजिक, आर्थिक तथा राजनीतिक मूल्यको विश्लेषण गरी तथ्यमा आधारित एवं कार्यान्वयनयोग्य कानून निर्माणमा चासो र चिन्ता लिनु आवश्यक भएको उनले बताए ।

‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ मूल ध्येयका साथ दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र स्वीकृत भई प्रदेश सरकार दोस्रो आवधिक योजनाको तर्जुमाको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

उनले यसअघिका कमीकमजोरीलाई सच्याएर प्रदेशको समग्र सामाजिक आर्थिक रुपान्तरणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संघीयताको सुन्दरता प्रदेश भएको र प्रदेशको औचित्यलाई स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

केन्द्रिकृत मानसिकतालाई त्याग्दै सङ्घीयताको मर्म अनरुपअघि बढ्नुपर्ने भन्दै उनले प्रदेशको समुन्नति एवम् प्रदेशको संरचनालाई बलियो बनाउन सधैँ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेशमा ६० भन्दा बढी कानुन बनिसकेका बताए । एकल अधिकार सूचिमा रहेका कानुन बने पनि साझा अधिकारको सूचीमा रहेका कानुन बन्न नसकेका अवस्थामा ती कानुन पनि प्रदेशसभाबाट बनाउने गरी लाग्नुपर्ने उनले आवश्यकता औँल्याए । सुशासनका लागि भ्रष्टाचार उठ्नै नसक्ने गरी लाग्नुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका पूर्वसभामुख नेत्रनाथ अधिकारी, उपसभामुख विनाकुमारी थापालगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ