arrow

वरिष्ठ लोकगायक बस्नेत र कार्की सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
kumar-basnet-samman-pokhara.jpg

पोखरा । वरिष्ठ लोकगायक कुमार बस्नेत पोखरामा सम्मानित भएका छन् । पोखरास्थित कल्याण शेरचन स्मृति प्रतिष्ठानले बस्नेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

सोही अवसरमा गायक राजन कार्की नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट सम्मानित भए । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगद रहेको छ ।

बस्नेत र कार्कीलाई वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक शर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायत सम्मान गरेका हुन् ।

सो अवसरमा वरिष्ठ लोक गायक बस्नेतले पोखरासँगको आफ्नो साइनो पुरानो भएको सुनाए । पोखरामा खिमबहादुर गन्धर्व, वीर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरिदेवी कोइराला लगायतलाई सम्झने गरेको बताए ।

पोखरालाई सांस्कृतिक क्रेन्द्र बनाउनुपर्छ भनेर पहिलेदेखि नै आवाज उठाउँदै आएको समेत उनले स्पष्ट पारे ।

संस्कृतिविद् डा.जगमान गुरुङले कल्याण शेरचनले अम्मरसिँह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए ।

सम्मानित भएका कुमार बस्नेतकोसमेत उनले प्रशंसा गरे । त्यतिबेलाको माहोलको कारण धर्मराज थापाले रुवाउने गीत गाउने गरेको र कुमार बस्नेतले हँसाउने गीत गाउने गरेको उनले सम्झना गरे ।

प्रतिष्ठानका अध्यक्ष ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, लोकगायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ