महेन्द्रनगर । सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ ।
आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार रामकुमार मण्डल बताउछन् । धनुषाका करिब ४० ठाउँमा मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् ।
मूर्तिकार मण्डलले यस वर्षका लागि २७ वटा मूर्ति बनाइसकेका छन् । उनीसँग प्रतिगोटा रु तीन हजारदेखि १५ हजारसम्मका मूर्ति छन् ।
अर्का मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउँदै आएको बताए । “आवश्यकताअनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु”, उनले भने ।
पण्डितको मुख्य पेशा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि रु पाँच हजारदेखि ३० हजारसम्मका मूर्ति बनाएर बिक्री गरिरहेको उनले बताए ।
सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उनीहरुको भनाई छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् । माटो, काठ, रङ कपडा तथा परालबाट मूर्ति बनाइन्छ ।
विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरुले पूजा गर्ने गर्दछन् ।