arrow

विधान सम्मेलनको तयारीमा माओवादी, स्थायी समिति शनिबार पनि, दुई दिन केन्द्रीय समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
maoist-permanent-committee-.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल शुरु भएको छ । माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा विधान मस्यौदा कार्यदलकी संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

बैठकमा विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका थिए । 

विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए । नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुपर्ने, केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यद्यपि छलफलका क्रममा उठेका विषयको निरुपण भने विधान सम्मेलनबाटै हुने प्रवक्ता सापकोटाको भनाइ छ । बैठकमा सैद्धान्तिक र नीतिगत छलफल भएको उनले जानकारी दिए । स्थायी समिति बैठक शनिबार पुनः बस्नेछ । 

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ ।

फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ