arrow

सांसद थापाको तलवभत्ता सामाजिक सेवामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
bindu-kumar-thapa.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले छ वर्षदेखि निरन्तर प्रदेशसभा सचिवालयबाट प्राप्त तलबभत्ता सामाजिक तथा विकास निर्माणका काममा खर्च गरेका छन् ।

प्रदेश सभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नं २ बाट दोस्रो पटक निर्वाचित थापा निरन्तर आफ्नो तलबभत्ता सामाजिक सेवामा खर्च गर्ने एक्लो सदस्य हुन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य थापाले पछिल्लो एक वर्षमा सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

विसं २०७९ पुस २५ देखि २०८० पुससम्म गण्डकी प्रदेशसभाका विभिन्न मासिक तलब, बैठक भत्ताबाट प्राप्त रु आठ लाख ९६ हजार ६० र व्यक्तिगतरुपमा रु दुई लाख १६ हजार थप गरी जम्मा रु ११ लाख १२ हजार छ सय पाँच सामाजिक क्षेत्रमा खर्च गरिएको उनले बताए । छ वर्षमा रु ७० लाखभन्दा बढी तलबभत्ता सामाजिक सेवामा खर्च गरेको उनले जानकारी दिए ।

सो अवसरमा थापाले निःस्वार्थरुपमा गरिने जनताको सेवाबाट आफू सन्तुष्ट रहेको र जनप्रतिनिधिको मूल उद्देश्य यही हुनुपर्ने बताए । उनले जनप्रतिनिधि जनताको चाहनाअनुसार निःस्वार्थरुपमा चल्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य, शिक्षा र विकास निर्माणका काममा तलबभत्ता खर्च गर्दै आएको भए पनि विशेषगरी पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित थापा उद्योगपति हुन् ।

क्यान्सर रोगबाट पीडित पोखरा-१५ का ओमबहादुर गुरुङ, पोखरा-१६ का राधा गायक, पोखरा-२० निर्मल बास्तोला र पोखरा-८ की लक्ष्मी छत्कुली तथा मुटुरोगी मिठु सर्किनीलगायत बिरामीलाई सहयोग गरेको थापाले दाबी गरे ।

खानेपानी, बाटो निर्माण, आमासमूह, युवाक्लब, विद्यालय, समाजघर, सीपमूलक तालिम, भूकम्प प्रभावित तथा सिँचाइका क्षेत्रमा तलबभत्ता खर्च गर्ने गरेको थापाको भनाइ थियो । बाँकी चार वर्षको तलबभत्ता सामाजिक क्षेत्रमा नै खर्च गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायतले भनाइ राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ