arrow

पोखरामा कालोपत्र शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
kotre-pokhara-prithivi-rajmarga-rss.jpg

पोखरा । मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न शुरु गरिएको छ ।

कास्की र तनहुँको सीमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम शुरु भएको हो । 

आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा महानगरपालिका-३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम शुरु गरिएको जानकारी दिए । 

उनका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उनको भनाइ थियो ।

पौडेलले भने, “सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ ।” 

मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । 

अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।

राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इञ्जिनियर पौडेलले बताए । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ । 

यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो । 

यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । 

निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको इञ्जिनियर पौडेलले जानकारी दिए । 

गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा पृथ्वी राजमार्ग रहेको छ । 

सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।

एसियाली विकास बैंक(एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन-पोखरा सडक योजनामार्फत काम भइरहेको पौडेलले बताए । उनका अनुसार राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको हो ।

पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन-पोखरा सडक योजनाकोे कार्यालय रहेको छ ।  

यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको काम विसं २०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ । रासस



नयाँ