arrow

यसरी घोषणा भयो तरूण नेतृत्व

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
tarun-jeetjung.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको चौथोमहाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस शीर्ष नेताहरु र महाधिवेशन सम्पन्न गर्न गठित केन्द्रीय निर्देशक समितिको सहमतिमा पदाधिकारी चयन भएका छन् । बाँकी पदाधिकारी र कार्यसमिति सदस्यहरु काठमाडौं आएपछि थप्ने बताइएको छ ।

भागबण्डाका आधारमा चयन गरिएका पदाधिकारीहरुमा अध्यक्ष पार्टी सभापति शेरबहादुर देउवा निकट जीतजंग बस्नेत (ललितपुर), उपाध्यक्ष कृष्णप्रसाद सिटौला निकट उत्तम चापागाई  (भोजपुर), महासचिव रामचन्द्र पौडेल निकट भूपेन्द्र जंग शाही (कालिकोट) र कोषाध्यक्षमा निर्देशक समिति संयोजक बालकृष्ण खाँण नजिक विद्वान गुरुङ (पर्वत) रहेका छन् ।

पदाधिकारी चयनका लागि सहमति मंगलबारै भएको भएपनि नामावलीलाई वुधबार मात्रै अन्तिम रुप दिइएको हो । तीन वटै समूहलाई समायोजन गर्ने भन्दै छलफल लम्बिएपछि तिन दिनमा सकिने भनिएको महाधिवेशन पाँच दिनमा सकिएको हो । सिटौला समूहले प्रक्रियामार्फत मनोनयन खुला नै नगरी अघि बढेको भन्दै आपत्ति जनाएकाे थियो ।

सिटौला समूहले विधि र विधानलाई ख्याल गर्न भनेपछि संशोधित र परिमार्जित विधान अनुरुप तरुण दल केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरु चयन केन्द्रीय निर्देशक समितिको बैठकले गर्ने सहमति भएसँगै नेतृत्व घोषणा भएको बताइएको छ ।

आन्तरिक एकता बलियो हुने अड्कल
निर्देशक समितिले सफलता पूर्वक सम्पन्न भएको बताएको छ । केन्द्रीय निर्देशन समिति संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलकुको वर्तमान राजनीतिक परिस्थितिमा पार्टी भित्रको आन्तरिक एकतालाई थप सुदृढ बनाउन नेपाल तरुण दल कार्यकर्तामा आधारित नेपाली कांग्रेसको भ्रातृ संस्था भएकाले पार्टी र प्रतिनिधिहरुको भावनालाई समेत मनन गरी नेपाल तरुण दल केन्द्रीय निर्देशन समितिले तरुण दल केन्द्रीय कार्यसमिति गठन गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ