arrow

कांग्रेसमा किचलो

महामन्त्रीको प्रतिवेदनमा देउवा अझै सहमत हुन सकेनन्, फेरि प्रयास हुँदै

समयमै १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने महामन्त्रीको प्रतिवेदनमै देउवा पक्षको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
deuba-gagan-thapa-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा असन्तुष्टि जनाएसँगै छपाइका लागि ढिला भएको छ ।

महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा महासमिति बैठकका लागि पेश गरेको सांगठनिक र महामन्त्री शर्माले पेश गरेको समसामयिक प्रतिवेदनप्रति देउवा र उनी निकट पक्षले असन्तुष्टि जनाएसँगै गम्भीर मतभिन्नता देखिएको हो । 

यसलाई समाधान गर्नका लागि महामन्त्री थापाले देउवा निवासमै गएर छलफल गरेको भए पनि देउवाले सहमति नजनाएको बताइएको छ । 

देउवाले सहमति नजनाएसँगै जारी संसद बैठक सकिएपछि पुनः छलफलमा जुट्ने सहमति भएको नेताहरुले बताएका छन् । 

थापाले पेश गरेको सांगठनिक प्रतिवेदनको आत्मा नै मर्ने गरी संशोधन गर्न देउवासँगै उनी निकटका नेताहरुले दवाव दिएसँगै गम्भीर मतभेद देखिएको हो ।

विशेषगरी थापाले आफ्नो प्रतिवेदनमा १५ औँ महाधिवेशन २०८२ सालको मंसिरमा गर्ने गरी कार्यतालिका बनाउने र गठबन्धनमा असहमति जनाएको विषयलाई प्राथमिकतामा राखेपछि देउवा पक्ष रुष्ट भएको हो । सोही विषयलाई अर्का महामन्त्री शर्माले पनि समेटेका थिए । 

देउवा पक्षले प्रतिवेदनको मर्म नै मर्ने गरी संशोधन गर्न दबाब दिएपछि महामन्त्री थापाले आफूले यति पनि प्रस्तुत गर्न नपाउने हो भने महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन पेश नहुन पनि सक्ने जिकिर गरेका छन् । 

यद्यपि उनले सभापति देउवालाई हदैसम्म लचिलो भएर मनाउने प्रक्रिया जारी रहेको सन्देश दिएका छन् । 

अन्य विषयमा कुरा मिल्न सक्ने देखिए पनि महाधिवेशनको कुरा भने देउवालाई चित्त बुझेको छैन । गठबन्धनमा देउवाले अन्तिम दुई वर्ष चुनावी सरकारको नेतृत्व गर्न सक्ने भएकाले त्यसअघि नै महाधिवेशन गर्नु उपयुक्त नहुने देउवा निकट एक नेताले बताएका छन् । 

यही विषय देउवालाई बिझेको छ । गठबन्धन र महाधिवेशन गर्ने बाहेकका विषयमा भने देउवाको कुनै असहमति नभएको पनि बताइन्छ । 

शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यसरी दबाब दिने हो भने महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन प्रस्तुत नहुन पनि सक्ने बताएका थिए । 

सोही अनुसार आइतबार बिहान महामन्त्री थापाले सभापति देउवा निवासमा गएर अन्तिम सहमतिको प्रयास गरेका थिए । तर त्यसबाट पनि सहमति ननिस्केपछि संसद बैठकपछि पुनः छलफलमा जुट्ने सहमति भएको बुझिएको छ । 

सहमति नभए महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन पेश नगर्न पनि सक्ने उल्लेख गरेको उनी निकट स्रोत बताउँछ । 

महामन्त्री थापा भने आफू हदैसम्म लचिलो हुन तयार रहेको तर नियमित प्रक्रियाका रुपमा रहेको महाधिवेशन र गठबन्धनका विषयमा पार्टीको धारणा आउनु पर्नेमा छन् । 

छापिएनन् प्रतिवेदन
सोमबार दिउँसो महासमिति बैठक बस्दै गर्दा अहिलेसम्म महामन्त्रीद्वयको प्रतिवेदन छपाइमा गएको छैन । 

देउवाले विपत्ति नजनाएको उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन भने छपाइका लागि गैसकेको पार्टी केन्द्रीय कार्यालयको प्रचारप्रसार स्रोत बताउँछ । 

सोमबारदेखि ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै गर्दा अन्तिम समयमा आएर देउवा पक्षले लफडा झिकेसँगै सोमबार समयमै महासमिति शुरु हुनेमासमेत शंका बढेको छ । 

यद्यपि महामन्त्रीद्वयले हदैसम्मको लचिलोपनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ