arrow

मन्त्री ज्वालालाई पदबाट राजीनामा दिन सांसदहरूको दबाब 

स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
prakash-jwala-2080-09-16.jpg

काठमाडौँ । सांसदहरूले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले सरकारले गठन गरेको छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । 

मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने सांसदहरूको माग छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मन्त्री ज्वालाको गल्ती प्रमाणित भइसकेको भन्दै नैतिकताको आधारमा पदमा बसिराख्न नमिल्ने बताए । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि अख्तियारको छानबिनमा परेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने बताए ।

उनले भने – ‘सम्बन्धित मन्त्रीले नैतिकताको हिसाबले पदमा बस्न मिल्दैन । उनको गल्ती प्रमाणित भइसकेको छ । राजीनामा गर्नु भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ । भौतिक मन्त्री र स्वास्थ्य मन्त्रीलाई कि त बर्खास्त गर्नुपर्‍यो कि राजीनामा दिनुपर्‍यो । प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरू सुशासनको निम्ति असफल भइसके । सिंगो सरकार नै सुशासनको निम्ति असफल भइसक्यो । भ्रष्टाचारको निम्ति यसले नेपालको इतिहासको रेकर्ड तोड्ने वाला छ । यो सरकारबाट सुशासनको आशा गर्नु बेकार छ ।’

नेकपा एमाले सांसद रघुजी पन्तले विगतदेखि नै अख्तियारको छानबिनमा परेका मन्त्रीले राजीनामा दिने प्रचलन रहेको भन्दै स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । त्यस्तै भौतिक पूर्वाधार मन्त्रीको राजीनामा पनि आफूहरूको अडान रहेको स्पष्ट पारे ।

उनले भने – ‘हाम्रो सचेतकले स्वास्थ्य मन्त्रीको राजीनामा पनि माग्नुभएको छ । प्रकाश ज्वाला जीको पनि राजीनामा माग्नुभएको छ । हाम्रो अडान पनि त्यही हो । पञ्चायत कालका मन्त्रीदेखि आजसम्म अख्तियारमा बयान दिन जानुपर्‍यो भने सबभन्दा पहिला उनीहरूले राजीनामा गर्ने हो । राजीनामा गर्न मान्दैनन् भने प्रधानमन्त्रीले तुरुन्त उनीहरूलाई पदबाट हटाउनुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा माग गरे । राजीनामा नआएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाई छ ।

नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले पनि मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राज्यको सम्पत्ति अनधिकृत रूपमा भोग चलन गर्नेहरूलाई कारबाही गर्न पहल लिइरहेको बताए । उनले सरकार सुशासन कायम गर्न लागि परेको बताए ।

उनले भने – ‘सरकारी जग्गाहरू राज्यको स्वामित्वमा ल्याउने, सरकारले सुशासनको क्षेत्रमा विभिन्न चरणमा विभिन्न बाहानमा राज्यको पद दुरुपयोग गरेर राज्यका सम्पत्तिहरू भोग चलन गर्ने प्रवृत्तिहरूलाई आगामी दिनमा रोक्नका निम्ति यो सरकारले पहल लिएको छ । त्रुटि हुँदा आलोचना गर्ने कुरालाई सम्मान गर्छौँ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ललिता निवास जग्गा प्रकरणमा अदालतले गरेको फैसला प्रशंसनीय भएको बताए । उनले यसलाई आफूले सकारात्मक रूपमा लिएको लिएको पनि बताए ।

उनले भने – ‘न्यायालयले अहिले ठिकै गरेको छ । न्यायमूर्ति न्यायपालिकाको सिद्धान्तअनुसार भर्ना हुनुपर्‍यो । सेटिङमा हुनु भएन नि । ललिता निवास जग्गा प्रकरण । राज्यको नाममा आएको छ सकारात्मक रूपमा लिएको छु । अदालतको फैसला प्रशंसनीय छ ।’

उनले भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा सत्तामा बस्नेहरूसँग नैतिकता नभएको टिप्पणी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ