‘नेपाल गरिब र सानो मुलुक भएर विश्वमा कम महत्व पाएको अनुभूति हुन्छ’
प्रकाशित २०७३ मंसिर १ बुधबार
927
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जस्तो शान्ति प्रक्रिया र शान्ति सम्झौता विकसित देशमा भएको भए छुट्टै महत्व पाउने बताएका छन् । बुधबार नेपाल ‘ट्रान्जिसन टु पिस इन्स्टिच्यूट’ले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको राजनीतिक सत्रमा प्रधानमन्त्रीले त्यसो भनेका हुन् ।
सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया र शान्ति सम्झौता सामान्य विषय थिएन र होइन । हाम्रो जस्तो शान्ति प्रक्रिया अमेरिकी र युरोपेलीजस्ता विकसित मुुलुमा भएको भए त्यसले विश्व जगतमा छुट्टै महत्व पाउथ्यो । कतै हाम्रोजस्तो गरिब र सानो मुलुकमा भएर यसले अन्तर्राष्ट्रिय जगतमा कम महत्व पाएको हो कि भन्ने अनुभूति गर्ने गरेको छु ।’
विश्वमा शान्ति प्रक्रियाका विभिन्न मोडल भएपनि नेपालको जस्तो मौलिक र सफल शान्ति प्रक्रिया विश्वमा कमै भएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘संसदीय मुलधारको नेतृत्व गरेका पार्टीहरु र परिवर्तनको मुलधारको नेतृत्व गरेको माओवादी पार्टीबीच राजनीतिक समझदारी कायम भई राजतन्त्रका विरुद्ध संयुक्त संघर्ष हुनु र राजनीतिक संघर्षको विजयपछि तिनै शक्तिहरुकाबीचमा शान्ति सम्झौता हुनु सामान्य विषय होइन । विश्वमा शान्ति प्रक्रियाका प्रशस्त प्रयासहरु भएका छन् । तर, नेपालको जस्तो सफल र मौलिक शान्ति प्रक्रिया विश्वमा कमै भेटिन्छन् ।’
सम्मेलनमा प्रधानमन्त्री दाहालले माओवादी पार्टी पुरानो मुलधारमा आएको नभएर सबै शक्तिहरुले आफ्ना पुराना मान्यता छोडेर नयाँ मुलधारमा आएको बताए । प्रधानमन्त्रीले १२ बुँदे राजनीतिक समझदारीले शान्ति प्रक्रियाको जग बसालेको भन्दै युद्धकैबीच पनि शान्तिको खोजी गर्दै अगाडि बढेको स्मरण गरे ।
नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न लागेको सुनाउँदै प्रधानमन्त्री दाहालले थपे, ‘अब देशमा हिजोको जस्तो सशस्त्र द्वन्द्व छैन । तर, सबैको भावना र मुद्धाहरुको सम्बोधन गर्न केही बाँकी छ । हाम्रो संविधान गतिशील दस्तावेज हो । अहिलेको राजनीतिक शक्ति सन्तुलन र परिस्थितिका आधारमा संविधानको स्वीकार्यता फराकिलो बनाएर हामी अघि बढ्छौं । २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन सम्पन्न गरेर हामीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनलाई संस्थागत गर्नेछौं ।’
कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधि, एमाले उपाध्यक्ष भीम रावल, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, मानव अधिकारकर्मीहरु पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना लगायतले नेपालको शान्ति प्रक्रियाको मौलिकतामा गीरिजाबाबु र प्रचण्डको भूमिकाको चर्चा गरेका थिए ।