arrow

आन्दोलनको कार्यतालिका बनाउन एमाले बैठकमा, योजना मध्यावधि निर्वाचनको

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक चलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पनि हुँदैछ । सरकारविरुद्ध फागुनदेखि आन्दोलनको कार्यतालिका ल्याउने गरी एमालेले केन्द्रीय कमिटीको बैठक शुरु गर्न लागेको हो । 

त्यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समयअघिबाटै गरेका थिए । जनवर्गीय संगठनहरुलाई आन्दोलनको तयारीका लागि आह्वान गरिसकेका ओलीले मंगलबार अर्थात् फागुन ८ देखि १० सम्म केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । 

सोही बैठकबाट आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ । माघ ५ को एउटा कार्यक्रममा अध्यक्ष ओलीले फागुनबाट आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । अध्यक्ष ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए । 

‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ, तर लोभीपापीहरू नभत्किन सक्छन्’, उनले भने, ‘यिनीहरू सबैको घाँटी, शरीर एकैठाउँ जोडिएको छ। यी एकै भ्रष्टाचारी वंशका, कमिशनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ ।’

ओलीले केही दिनकै तयारीमा निर्णायक लडाइँका लागि पार्टीले आन्दोलन आह्वान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै तयारी अवस्थामा रहन पनि निर्देशन दिएका थिए । ‘आन्दोलनका निम्ति पार्टीले जतिबेला सिठी बजाउँछ, त्यतिबेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ ।

छोटो तीन दिनको तयारीमा राष्ट्रिय आन्दोलनको तयारीमा उत्रिनु पर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ,’ उनले भने, ‘उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन् ।’

त्यही अवस्थालाई आधार मान्ने हो भने केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकमा पेस हुने ६ वटा एजेण्डा तय भएको जानकारी बताएका छन् । 

सचिवालयको निर्णय र सुझाव अनुसार केन्द्रीय कमिटी बैठकमा पेस हुने मुख्य ६ वटा एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख गौतमको दाबी छ । गौतमका अनुसार पहिलो एजेण्डामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिने गरी सम्बोधन गर्ने, दोस्रो सांगठनिक कामको समीक्षा, एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा,तेस्रोमा संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा,  चौथोमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय,पाँचौँमा जनपरिचालन र जनदबाबका एजेण्डा रहेका छन् । 

एमाले केन्द्रीय कमिटीको छैटौँ एजेण्डामा समसामयिक प्रस्तावमाथिको छलफल रहेको छ । एमालेले वर्तमान गठबन्धन सरकारको कामको समीक्षा, मुलुकको अर्थतन्त्र, सरकारका असफलता, सुशासन कायम गर्न नसकेको लगायतका विषयमा बैठक लगत्तै पार्टी परिचालन गर्ने तयारी गरेको छ । 

केन्द्रीय कमिटी बैठकका लागि एमालेका केन्द्रीय सदस्यहरु सबै काठमाडौँ आइपुगेका छन् । फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । 

बैठकमा मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरू र अधिवेशनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यहरूबाट न्यूनतम सय रूपैयाँ उठाउने प्रस्तावमाथि पनि छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ