सोलिडारिटी कप विजेता टोली स्वदेश फिर्ता, भव्य स्वागत, नगर परिक्रमा

प्रकाशित मिति : २०७३ मङ्सिर २ बिहिबार
तस्वीर – एजेन्सी
काठमाडौँ । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ । 
 
नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री दलजित बिके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाका पदाधिकारीका साथै थुप्रै संख्यामा विमानस्थल पुगेका फुटबलप्रेमीले स्वागत गरे । 
 
स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली सहित गौशाला–बत्तिसपुतली– मैतीदेवी–पुतलीसडक–घन्टाघर–सहिद ढोका –नयाँ सडक– दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मङ्गलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगेको छ । 
 
विजेता टोलीलाई सरकारले जनही तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । 
 
यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि विजेता बन्यो । 
 
ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ फिफाले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो । 
 
यसैबीच एन्फाले खेलाडीहरुलाई जनही कम्तीमा पाँच लाख रुपैयाँ दिने भएको छ । एन्फा प्रवक्ता इन्द्रमान तुलाधरले अध्यक्ष नरेन्द्र श्रेष्ठ सोमबार नेपाल फर्किएपछि कति रकम दिने भन्ने निक्र्योल हुने बताए । 
नयाँ