arrow

कांग्रेस नेता लामामाथि अपहरणको आरोप लगाएका खड्काले जग्गाको पैसै नतिरेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
gkhadka-property-case.jpg

काभ्रे । नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेलामा केन्द्रीय सदस्य गणेश लामामाथि अपहरणको आरोप लगाएका ज्ञानेन्द्र खड्काले जग्गा किने बापतको पैसा नै नतिरेको रहस्य खुलेको छ ।

उक्त पैसा नतिर्नका लागि नै खड्काले नौटङ्की गरेको खुलेको हो । खड्काले २०७१ साल असोज ३० गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल मालपोत कार्यालयबाट धुलिखेल नगरपालिका वडा नं ४ को कित्ता नं ५२ को २–७–३–१ क्षेत्रफलको जग्गा आफ्नी श्रीमती नानीमैया कार्कीको नाममा पास गरेका थिए । 

अरनिको राजमार्गसँग जोडिएको उक्त महँगो जग्गा किनेबापतको पैसा तिर्न खड्काले लामासँग केही समयको भाखा मागेका थिए । तर उक्त रकम नतिरी सम्पर्कविहीन भए ।  

त्यतिमात्र हैन श्रीमतीको नाममा जग्गा पास भइसकेपछि ढुक्क भएका खड्काले लामालाई सामाजिक सञ्जालसहितका सबै माध्यमबाट विच्छेद गरे । अनि विदेश गए । 

लामो समयसम्म पैसा नपाएपछि लामाले उनको खोजी शुरु गरे । खोज्दै जाँदा लामाले आफूले बेचेको जग्गाका खरिद गर्ने ग्राहक खडा गरी त्यसकै माध्यमबाट अगाडि बढे । 

जग्गा बेचेको करिब ९ वर्षपछि बल्ल खड्कालाई भेटेका लामाले उक्त जग्गा बापतको पैसा मागेपछि छलफलको क्रममा हालको चलन चल्ती र त्यतिबेलाको मूल्यको मध्यभागमा रहेर करिब ४० आना जग्गाको २० करोड रुपैयाँ मूल्य कायम गरी खड्काले राजीखुशीले कागज गरेका थिए । 

कानूनी प्रावधानअनुसार १० लाख रुपैयाँभन्दा बढीको कागजात वडामा गएरमात्र प्रमाणित गर्नुपर्ने भएकाले त्यसका लागि दुवै पक्ष गएर वडाको रोहबरमा सही छाप गर्नुपर्ने व्यवस्था रहेकोले २०८० साल पुस २४ गते वडा कार्यालयमा गएर वडाको रोहबरमा प्रमाणितसमेत गरिएको थियो ।

कागज गरिसकेपछि खड्काले लामाको छोराको बैंक खातामा केही रकम पठाए पनि । नेता लामाका अनुसार त्यसपछि भने पैसा नतिर्न खड्काले अनेक जुक्ति रच्न थाले । एकाएक बाँकी पैसा नतिर्नका लागि खड्काले पछिल्लो हतकण्डा अपनाएको लामाको दाबी छ । 

कागज गरिसकेपछि आफ्नो बदनाम गर्ने उद्धेश्यले खड्काले गैरकानूनी कदम चालेको लामाको आरोप छ । 

यता, खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करोडौँको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् ।

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन् ।  

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ । खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस वक्तव्यमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन् ।  उनले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमासमेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ।’

यस सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढेको जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ