arrow

एएफसी सोलिडारिटी कप फुटबल जितेपछिः निद्रा पनि हरायो, चुनौती थपियो – राजुकाजी शाक्य

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
rajukaji-shakya.jpeg
 
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सफल प्रशिक्षक राजुकाजी शाक्यले नेपालले एएफसी सोलिडारिटी कप फुटबल जितेपछि चुनौती थपिएको बताएका छन् । 
 
शाक्यले निरन्तर उपाधि जित्दै गएपछि अपेक्षा पनि बढी भएकाले अब त जित्नैपर्ने वाध्यता भइसक्यो भन्छन् । 
 
खुसी हुँदै उनले सुनाए, ‘जताततैबाट बधाइ आएपछि दबाब पनि बढ्छ, मिडियाले पनि निकै साथ दिएको छ, राम्रो गर्दा निकै प्रशंसा गर्ने मिडियाले हामीबाट कुनै गल्ती भए छोड्न पनि त छोड्दै न नि (हाँस्दै) !’
 
उनीसंग भएको छोटो कुराकानीको यो अंश–
अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि जितेपछि के आयो मनमा तत्काल ? 
खुसीको सीमा रहेन । मन पनि अताल्लिने रहेछ । सेमिफाइनलमा पुगेदेखि तनाव थियो । अब के होला कसरी अगाडि बढ्ने भन्ने थियो । रातभर निद्रा लाग्दैनथ्यो । मनैमनमा भोलि यसो गर्छु भनेर सोचेर बसिरहन्थें । तनाव थियो । जितेपछि बढी एक्साइट भइयो । 
 
उपाधि जितेपछि निद्रा मज्जाले लागे होला है ?
के को निद्रा लाग्नु नि । खुसीले झनै निद्रा नलाग्दो रहेछ । केटाहरु पनि उत्तिकै खुसी थिए । अब के गर्ने ? कसरी अगाडि बढ्ने ? के कस्ता कमजोरी भए ? सुधार के गर्न सकिन्छ ? जस्ता आपसमा कुराकानी भए । केटाहरु पनि निकै खुसी हुँदा हामीलाई सरकारले र एन्फाले त ठूलै पुरस्कार देला है भन्न थाले । अनि निद्रा गायब ।
 
चुनौती चाहीं के छन् अब ? 
अब त चुनौती नै चुनौती नि । जहाँ गयो त्यहीं चुनौती । जित्दै गएपछि हार्न नहुने चुनौती । माया गर्नेलाई माया दिइरहनु पर्ने चुनौती भन्या जस्तै । 
 
के भयो भने नेपालले उपाधि जित्दै जाला ? 
अहिले निरन्तर ट्रेनिङ्ग भएकैले राम्रो भएको हो । यसलाई निरन्तर दिइरहनु पर्छ । हाम्रो भन्दा माथिका स्तरका टिमसंग मैत्रिपूर्ण खेल खेलिरहनु प¥यो । त्यसले गर्दा हामीले धेरै सिक्न पाउँछौं । 
 
कमजोरी के छन् टिममा ? 
कमजोरी त गनिसाध्य छैन । कति छन् कति । हामीमादेखि खेलाडी सबैमा छन् । तर सिक्दै कमजोरी हटाउँदै जाने हो । ठूलो टिमसंग खेल्दा कमजोरी पनि पत्ता लाग्दै जान्छ । 
 
अब के गर्नुपर्छ ? 
अब थुप्रै मेहनत गर्न बाँकी छ । मेहनत गर्नैपर्छ । दीर्घकालीन सोच लिएर अगाडि नबढी हुँदैन । तलदेखि माथिसम्म सबै कुरा सोच्नुपर्छ । 
(शाक्यसंग नेपालले गत मंगलबार मलेसियामा भएको पहिलो एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले फाइनलमा मकाउलाई हराएर उपाधि जितेर काठमाडौं फर्केपछि कुराकानी गरिएको हो )
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ