arrow

नेपाल वाफ च्याम्पियनशिपको सेमिफाइनलमा, इराकविरुद्ध साम्बाको पाँच गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
sabitra-bhandari-samba-2024.jpg

काठमाडौँ । नेपाली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले इराकलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा) ले गरेकी थिइन् । योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन् । 

पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औँ मिनेटमा पाँचौँ गोल गरेकी थिइन् । यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औं मिनेटमा पहिलो १५औं मिनेटमा दोस्रो, ३७औं मिनेटमा तेस्रो तथा ४४औं मिनेटमा चौथो गोल गरेकी थिइन् ।

यो नेपालको वाफ च्याम्पियनशिपमा लगातार दोस्रो जित हो । यसअघि नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको पराजित गरेको थियो । समुह बी मा २ खेलमा ६ अंक हासिल गरेको नेपालले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित गरेको छ ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बी मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समूह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

नेपालले समूह चरणको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ