arrow

संसदका महासचिव पाण्डेयको नागरिकता र राहदानीको विवादित विषय संसदमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
padhmaprasad-pandey-parliament.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन् । 

शुक्रबार बैठक शुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदहरु आरोप–प्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए । 

प्रतिपक्षी दलका सांसदको आक्रोश र आरोपयुक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा सांसद सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय उठाएका हुन् । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सभामुख देवराज घिमिरेले संसदको महासचिवमा पाण्डेयलाई सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले महासचिवमा नियुक्त गरेका थिए । 

पाण्डेयको विषयमा राष्ट्रपतिले छलफल चलाउँदासमेत तिमिल्सिना र घिमिरेले मिडियाबाजी गरेका थिए । जबकि उनको नागरिकता र राहदानी छानबिन भइरहेको थियो । समितिको छानबिनलाई प्रभावित पार्नेगरी मिडियाबाजी भएसँगै राष्ट्रपतिले नियुक्त गरेका थिए । 

यद्यपि गलत सल्लाह दिएको भन्दै राष्ट्रपति सल्लाहकारहरुसँग रिसाएकासमेत थिए । 

तिमिल्सिना र घिमिरे एमालेबाट सभाध्यक्ष र सभामुखमा चयन भएका हुन् । 

एमालेका प्रमुख सचेतक पदम गिरी र सांसद योगेश भट्टराईसहित प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आरोपयुक्त अभिव्यक्ति आएपछि माओवादी केन्द्रका सांसद सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका हुन् । 

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न । संसद्मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुई वटा पार्सपोर्ट छ । तपाईंहरूले त्यो थप्नुहुन्न,’ सांसद सापकोटाले बैठकमा भने । 

महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे सञ्चार माध्यममा समाचार आइरहेका बेला शुक्रबार संसदमा समेत प्रवेश भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ