काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले राज्यका विभिन्न निकायमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरूलाई सेवाबाट नहटाउन सरकारसँग जोडदार आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले अर्थ मन्त्रालय अगाडि आन्दोलित करार तथा अस्थायी कर्मचारीहरूसँग भएको आफ्नो संवाद सदनमा सुनाउँदै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।
संसद्मा बोल्दै सांसद राईले भने, “हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै कर्मचारी साथीहरू भेला भएर छलफल गरिरहनुभएको थियो। मलाई जिज्ञासा लाग्यो, मैले के भयो भनेर प्रश्न गर्दा उहाँहरूले भन्नुभयो— ‘हाम्रो जिन्दगी बितिसक्यो। हामी करार र अस्थायी कर्मचारी भएर राज्य र जनताको सेवा गरिरहेका छौँ। नयाँ सरकारले मुलुक बनाउन आएको भन्दै हामीलाई निकाल्ने कुरा गरिरहेको छ। यसले हाम्रो जीवन बर्बादीतर्फ जाने अवस्था सिर्जना भएको छ। हामीले यो ठाउँ छोड्नुपर्यो भने ठूलो समस्या हुन्छ’।”
सांसद राईले सभामुखमार्फत सरकारलाई अपिल गर्दै लामो समयदेखि सेवामै जीवन बिताएका कर्मचारीहरूलाई सडकमा ल्याउनु अन्यायपूर्ण हुने बताए। थुप्रै नेपाली युवाहरू रोजगारीको खोजीमा दैनिक रूपमा विदेश गइरहेको वर्तमान अवस्थामा स्वदेशमै थोरै भए पनि रोजगारी पाइरहेका दाजुभाइ, दिदीबहिनीलाई निकाल्न थालियो भने मुलुकको सामाजिक र आर्थिक परिस्थिति झन् जटिल बन्ने उनको तर्क थियो।