arrow

महिला संघमा मिश्रको गुटगत राजनीतिले भाँडभैलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा अध्यक्ष उषा मिश्रले चलाएको गुटगत राजनीतिको भाँडभैलो कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका महिला महासमिति सदस्यहरुलाई लक्षित गरेर मंगलादेवी फाउन्डेसनले गरेको चियापानमा पनि देखिएको छ।

सो चियापान कार्यक्रम कांग्रेस नेतृ सिर्जना सिंहको नेतृत्वमा उनकै निवास चाक्सीबारी गरिएको थियो । मंगलादेवी फाउन्डेसनले गरेको सो चियापान कार्यक्रममा अध्यक्ष उषा मिश्रले गुटगत रुपमा हस्तक्षेप गरेको भन्दै बहुसंख्यक महिला महासमिति सदस्यहरुले असन्तुष्टि राख्दै विरोध गरेका छन् । महिला संघकी संस्थापक मंगलादेवी सिंहको फोटो र ‘नारी संघर्षका पाइला’ नामक पुस्तक देशैभर पठाउने भनेर सिंहले निम्तो गरेकी थिइन् ।

कार्यक्रममा सम्बन्धित जिल्लाका  महिला संघका केन्द्रीय सदस्य हुँदाहुँदै महिला संघकी संस्थापक मंगलादेवी सिंहको फोटो र ‘नारी संघर्षका पाइला’ नामक पुस्तक महिला संघकी अध्यक्ष उषा मिश्रले अन्यलाई गुटगत आधारमा पठाएको भन्दै विरोध भएको हो । 

महिला संघका केन्द्रीय सदस्यलाई दिइ पठाउनुपर्नेमा अन्यलाई दिएको भन्दै अधिकांश केन्द्रीय सदस्यहरु आक्रोशित भएका थिए । अध्यक्ष मिश्रले आफ्ना मान्छे छानीछानी जिम्मेवारी दिएपछि केन्द्रीय सदस्य तारा थपलियाले कार्यक्रम सञ्चालिकाको हातबाट कागज तानेर च्यातिदिएकी थिइन् । 

हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा पार्टी नेतृत्वले गुटगत नभई पार्टीका सबै तह, तप्का, वर्ग समुदायबाट निर्वाचित प्रतिनिधिहरुलाई एक ढिक्का बनाएर संगठन चुस्तदुरुस्त बनाउने निर्णय भएको थियो । 

अन्य दलसँग गठबन्धन नगर्ने, आन्तरिक गठबन्धनलाई बलियो बनाउने, कांग्रेस महासमितिले देशैभर पार्टीमा आन्तरिक एकताको सन्देश दिने, आवधिक निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा नभई कांग्रेसको रुख चिन्हमा केन्द्रदेखि स्थानीय तहसम्म भोट हाल्ने वातावरण बनाउने, भ्रातृ, भगिनी तथा सुभेच्छुक संघ, संगठनहरुलाई एक ढिक्का बनाएर अगाडि बढाउने शीर्ष नेताहरुले बताएका थिए । 

तर अध्यक्ष मिश्रले भने निर्वाचित केन्द्रीय सदस्यलाई दिनुपर्ने जिम्मेवारी अन्यलाई दिएर पार्टीभित्र गुट, उपगुटको बिजारोपण गरेको भन्दै देशभरका महिला प्रतिनिधिहरु आक्रोशित भएका छन् । नेतृत्वको संकीर्ण स्वभावले सम्पन्न महासमिति बैठकमा उठेका विषयहरु ओझेलमा पर्ने भन्दै केन्द्रीय सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि पनि उनले गुटगत रुपमा फरक मत राख्ने जिल्ला अध्यक्षहरुलाई हटाएर नयाँ अध्यक्ष बनाएपछि अहिले धेरै जिल्लामा महिला संघको समानान्तर गतिविधि हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ