arrow

मिटरब्याजी पीडितले न्याय नपाएसम्म सडक आन्दोलन नरोक्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
meaterbyaji.jpg

काठमाडौँ । सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् । आइतबार काठमाडौँमा प्रदर्शनका क्रममा पीडितहरूले सरकारको गोली खानुपरे पनि आफूहरू तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् । उनीहरूले सरकारले साहुजीहरूको तमसुक खारेज र बैङ्कका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे । 

पीडितहरूले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरूले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए । उनीहरूले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे । 

रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाउनु भयो । उनले घर फर्कँदा साँहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताए । रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताए । उनले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताए । उनले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको बताए । उनले पीडितहरू न्याय नपाए मर्न पनि तयार रहेको बताए ।

उनले भने,‘ एक लाख लिएको मिटरब्याजीले चार गुणा बनायो । एक लाख लिएको तमशुकमा ४ लाख बनायो । ४ लाख बराबरको अदालतमा मुद्दा हालेको छ । घरजग्गा सबै अदालतले रोक्का गरेको छ । साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको महिलाले त्यसमा पनि पीडित बनायो । लघुवित्तको एक लाख तिरेको छु । तर सबै बाँकी छ भनिरहेको छ । लघुवित्त र साहु महाजनको ऋण बढी रहेको छ । समस्या समाधानको सरकारसँग माग गरिरहेका छौं । समाधान हुने विश्वास छ । सरकारले कति दिनमा न्याय दिने उसैको हातमा छ । माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन । पीडितहरू मर्न पनि तयार छ ।’

अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पत्ति रोक्का गरिदिँदा समस्यामा परेको बताए । उनले सम्पत्ति बेचेर ऋण तिर्न समेत नपाएको बताए । उनले आन्दोलनमा आउँदा मकवानपुरमा कुटपिटमा समेत परेको बताए । उनले सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने बताए । उनले घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको बताए । उनले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।

उनले भने,‘१ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पत्ति रोक्का गरिदियो । बेच्न पनि पाउँदैन । अवस्था गम्भीर भयो । आन्दोलनमा समेत आउँदा मकवानपुरमा आउँदा कुटपिट समेत गर्ने काम भयो । म त्यो पनि पीडित हो । भरतपुर अस्पतालमा भर्ना भएर पीडित भएर आएको हो । सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्छौँ । घरमा बसे पनि सडकमा मर्ने हो यहाँ पनि सडकमा नै मर्न तयार छौँ । न्याय नपाएसम्म आन्दोलन रोकिँदैन ।’

त्यस्तै,महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैङ्कले दिएको दबाब बढिरहेको बताइन् । उनले बैङ्कबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैङ्कले कि घरखाली गर नभएर चाबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताइन् । उनले घरजग्गा बैङ्कका भएकाले ऋण तिर्न सक्ने अवस्था नभएको बताइन् । उनले ऋण तिर्न श्रीमान् पनि विगत लामो समयदेखि थलामा रहेको बताइन् । उनले सरकारले धितो फिर्ता गरी दिए न्याय पाउने आशाले काठमाडौं आएको सुनाइन्।

उनले भनिन्,‘लघुवित्तबाट ऋण लिएको थिए । बैङ्कमा धितो छ । बैङ्कले घरखाली गर नभएर चाबी लगाइदिन्छु । नभए पैसा तिर । ऋण लिएको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो । तीन वर्षमा ८ लाख भयो । तिर्नेकी घरमा चाबी लगायौँ । घरजग्गा बैङ्कमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन । माग पूरा भएपछि मात्रै फर्कने योजना छ । मरे पनि सरकारले होली हाने पनि सडकमा आन्दोलन गर्न सकेका छौ ।’
 



लोकप्रिय समाचार
नयाँ