arrow

सरकारको उपेक्षा

हरित नगरीबाट हिलोमय इलाम: मेची राजमार्ग जीर्ण हुँदा बिरामी र सुत्केरी मारमा [भिडियो]

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निस्कल राईको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
niscal-rai-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको अत्यन्तै दयनीय अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माणको माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न मुख्य तथा सहायक सडकखण्डहरू जीर्ण बनेका कारण नागरिकले सास्ती भोग्नुपरेको र बिरामी तथा सुत्केरीलाई समयमै अस्पताल पुर्‍याउन समेत असम्भव भइरहेको बताए।

संसद्मा बोल्दै सांसद राईले भने, “इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी नागरिक झापाको अस्पतालसम्म आउन सक्ने स्थिति छैन। राजदरबारको बाटोखण्ड उत्तिकै बेहाल अवस्थामा छ।”

सांसद राईले इलाम–राजदरबार सडकखण्ड, माइजोगमाई खोलाको बेलीब्रिज, पुवाखोलाको बेलीब्रिज तथा सिमलगोल क्षेत्रका सडकहरूको नाजुक अवस्था सुधारका लागि आफूले पटक–पटक सदनमा आवाज उठाए पनि सरकारले कुनै सुनुवाइ नगरेको गुनासो गरे।

गत वर्षको प्राकृतिक विपत्तिपछि सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरे पनि पुनर्निर्माण र राहतका लागि आवश्यक बजेट पूर्ण रूपमा उपलब्ध नगराइएको उनको भनाइ थियो। हालको मनसुनका कारण सन्दकपुर, माइजोगमाई, रोङ र सूर्योदय नगरपालिका उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले ती क्षेत्रमा अझै पनि ठूलो बस्ती विस्थापनको खतरा कायमै रहेको तर्फ सरकारलाई सचेत गराए।

उनले माइजोगमाई गाउँपालिका र आसपासका क्षेत्रमा लगातारको नदी कटानका कारण खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन र नदी नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे।

यसै गरी, सांसद राईले जिल्लाको स्वास्थ्य र पर्यटन पूर्वाधारसँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरू— सन्दकपुर अस्पताल, सूर्योदय नगरपालिका–१२ देखि वडा नं. ३ जोड्ने सडक, तथा माइपोखरी–ढापपोखरी–नयाँबजार सडकलगायतका स्थानीय विकास आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग जोडदार आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ