arrow

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
Mawobadi meeting.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आज बस्दै छ  ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मङ्गलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका छन् ।

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिएका छन् । आवश्यक गृहकार्य गरेर पुनः मङ्गलबार बिहान ८ः३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भने ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ ।

तराई-मधेस अभियान, उत्तर-दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए । माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।

समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उनले बताए । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले पहल थालिसकेको छ ।

आइतबार नै गृहमन्त्रालयले मिटरब्याजपीडितलाई वार्ताका लागि आह्वान गरेको छ भने लघुवित्तपीडितको माग सम्बोधनका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ